October 18, 2011

DISCORD CREEPS INTO QUIET HIMALAYAN NEIGHBOURHOODS AS 'OUTSIDERS' OFFER 'RANDOM NAMES' TO THE 'INSIDERS'

[A post was made yesterday on the indigenous peoples  - the IPs - of Nepal,  some theoretical disagreements and discussion on them  and  a call for reconciliation, trust and solidarity also. The government of Nepal had constituted, second time on June 19, 2009, a High Level Taskforce for the Revision of Official List of Indigenous Nationalities of Nepal. The Taskforce  submitting its report on Thursday, May 13, 2010 to then Prime Minister Madhav Kumar Nepal has recommended an additional 29 new 'indigenous nationalities - आदिवासी जनजाति' dropping 3 from already registered 59 and making a total 85 of them in the country. The report has not been well received yet, therefore, the government stands hesitant to make it public so far until today. Below is an insider's article from a remote eastern Himalayan region of Shankhuwashava who says, there are no Lhomis (Shingsabas) who could be listed as 'indigenous nationalities' of the country. The Lhomis (Shingsabas) are listed as 'indigenous nationalities' previously and in the new report also. This is a serious issue of someone's identity and what the concerned person or community says should certainly be their identity; no outsider can offer random name or identity to an insider. - The Blogger]


 

शिङसा, कारभोटे, भोटे, ल्होमी,  नार्पा, शेर्पा, थुदम्पा, पाखोलापा – भ्रम र यथार्थ


लेखक  छोङडुक भोटे
नेपालमा हालको कोशी अन्चलको सँखुवासभा जिल्लाको पाथिभरा गा.बि.स.मा सिमा भन्ने गाँऊ छ। सिमा अर्थात सिमाना, यस गाँऊ नाघेर पुगिने पहिलो गाँऊ हो एकुवा, जहाँ आफूलाई शेर्पा भनि चिनाउने भोटमूलको जनजातिको बसोबास छ। सिमा डाँडा, यहीबाट शुरु हुन्छ भोटखोला अर्थात शिङसा क्षेत्र। किमाथाङका, चेपुवा, हटिया, पावाखोला गा.वि.स. र पाथिभरा गा.वि.स.को केही भाग समेतको भूभाग यो क्षेत्रभित्र पर्दछ । यस क्षेत्रमा रहेको १९ गाँऊमा शतप्रतिशत (अपवाद-सिप्रुङ) भोटिया आदिवासीहरुको बसोबास छ भने अरु गाऊँहरुमा राई, गुरूङ, तामाङ रहेका छन। भोटिया आदिवासी बसोबास भएका गाँऊहरु –१. थुदाम २. किमाथाङ्का ३. छुमसुर ४. रिदाक ५. च्याम्ताङ ६. गुम्बा ७. लिङगाङ् ८. चेपुवा ९. रुकुमा १०. घुक्मु ११. दाङ्गोक १२. फाराङ १३. हुङगुङ १४. हटिया १५. सिम्बुङ १६. स्याक्सिला १७. सिप्रुङ १८. नामासे १९. पावाखोला । यस्को अलावा शिङ्सा क्षेत्रका १. डेन्थाङ, २. चाङ्गा र ३. नादाङ जस्ता गाँऊहरू तिब्बत/चीन भित्र पर्दछ।
ख. शिङ्साको साँचो अर्थ
नेपाल र भोटको ईतिहास अनुसार यो क्षेत्र १८ औं शताब्दीमा तत्कालीन गोर्खा राज्यको एकिकरण भित्र आउनु भन्दा पहिला भोटे राजाको राज्य अन्तर्गतको खेती गरिने क्षेत्रमा पर्दथ्यो । १०-१५ बर्ष अघिसम्म पनि तिब्बतको अन्न बाली केही नहुने रिउ, फेरुक, सिगात्से जस्ता ठाउँहरुमा आलु, फापर, कोदो र जौको पिठोको आदि खाद्यन्नहरु आपूर्ति यही क्षेत्रबाट हुने गर्दथ्यो । उनिहरूको नुन, घ्यु र लत्ता कपडासँग यहाँको अन्नको बस्तु बिनिमय हुन्थे। यीनै रिउ, फेरुक, सिगात्चीपाहरुले हाम्रो क्षेत्रलाई शिङसा र हामीलाई शिङ्सापा भन्दछ। यस कुरोको साक्षी पुस्ता हामी स्वयँ अझै जिवितै छौँ। यसरि यो क्षेत्र तत्कालिन भोटको लागी कृषकहरूको भूमि भएकोले शिङ्सा नाम रहन पाईन्छ। शिङ्साको नेपाली उल्था/अर्थ कृषीभूमी हो र हामी शिङसापा अर्थात किसान। तर बिभिन्न दुईदिने बाहिरिया पाहुना लेखकहरुले आफ्ना आफ्नै पाराले बिभिन्न चटके परिभाषा र अर्थ आफ्नो ईच्छा अनुसार भिराई दिनाले अहिलेको पढेलेखेको पुस्तामा गञ्जागोल सिर्जना भएकोछ।
ग. शिङसा, कार भोटे, भोटे, ल्होमी, ना-पा, थुदम्पा र पाखोलापा – भ्रम र यथार्थ
नेपाल र भारत हिन्दु-धार्मिक सामाजिक सँरचनात्मक जातिय बिभेदले ग्रसित देश भएको हुनाले नयाँ मान्छेसँगको परिचय गर्दा आफ्नो नाम सँग जोडिएर आउने हाम्रो थरका बारे पनि बढता नै चासोका साथ सोधिन्छ। त्यस अवस्थामा यो प्रश्नले शिङसा क्षेत्रका अहिलेको पढे लेखेका नेपाल भित्रका युवा पुस्तालाई र भारत दार्जीलिङमा रहेका शिङ्सापा भोटियाहरुको समेत दिमागलाई साह्रै गजबले रन्थनाई दिएको पाईन्छ। यस टाउको दुखाईको मूल कारणमाथी समय मै छर्लङ्ग हुन नसके यो घट्नुको साटो बढ्दै जानेछ।
१. शिङ्सा
शिङसा भनेको कुनै जात वा थर नभई यो भौगोलिक क्षेत्र हो। यो क्षेत्र भोटमूलका आदिबासी जो आफुलाई भोटे, ल्होमि, ना-पा र थुदम्पा भन्न रुचाउँछन, लगायत गुरुङ, तामाङ, शेर्पा, नेवार र विश्वकर्मा आदीको साझा थलो हो। यथार्थमा यो भौगोलिक क्षेत्र हो, ब्यक्ति होईन। त्यसैले कसैले मेरो जात वा थर शिङ्सा भनेमा या त यो उस्को भ्रम मान्नु पर्ने हुन्छ, वा रहरले राखिएको उपनाम। किन कि भूगोल आफैमा थर वा जात हुदैन। यो आफैमा हिन्दु-जातिप्रथा भित्रको जात वा थर नभएको हुनाले यो ठूलो या सानो जात हुने त कुरै भएन।
आज पनि भारतको दार्जीलिङ क्षेत्रमा यस बारे ठूलै भ्रम रहेको छ। यथार्थमा कुनै पनि ब्यक्ति वा समूह नयाँ स्थानमा कामको खोजीमा जाँदा कहिले पनि एकाएक स्तरिय वा अफिसहरुमा काम सजिलै पाऊँदैनन्। त्यसैगरि शिङसा क्षेत्रबाट दार्जिलिङ पुगेका पहिलो पुस्ताका भोटियाहरुले पनि शुरुमा त्यस्तै सामान्य कामहरु नै पाए। घरेलु जाँडपानी बनाई बेच्ने साना दोकाने, चिया कमानमा चियापत्ति टिप्ने मजदुरी, मासु पसलमा मासु काट्ने र बेच्ने मजदुरी आदि।
सन १९५९ मा तिब्बतमा चीनको चढाईँसँगै तिब्बतबाट शरणार्थीका रुपमा यो क्षेत्रमा आईपुगेका केही सामन्ति र धनाढ्य तिब्बति (सबैलाई भन्न खोजेको चाहीँ होईन नि) भोटियाहरुले आफूलाई माथिल्लो जातको भोटिया र शिङसा क्षेत्रबाट आएका भोटियाहरु तल्लो जातको भोटिया भनेर भ्रम सिर्जना गरेको पाईन्छ। आफ्नै शिङसापा भोटिया परिवारभित्र त केही नाम वा दाम कमाउने बितिकै आफ्नो नामको पछाडि आफैले ….ला थपेर आफुलाई आफ्नै दाजुभाईभन्दा ठूलो देखाउने सामन्ति सोँचभएको परिबेशमा प्राय: धनि सामन्तहरुले गरिब वा श्रम गरिखाने वर्गलाई दबाउन र होच्याउन काल्पनिक जात/तह सिर्जना गर्नु कुनै अनौठो नै भएन।
यो भ्रमको कारण उत्पन्न हिनभाव (inferiority) को कु-प्रभाब उदगमथलो नेपालको शिङ्सा क्षेत्रसम्म आईपुगेको कारण आफ्नो गौरब गर्नलायक पितृभूमिलाई सही नामबाट चिनाउन समेत हिच्किचाएको पाईन्छ। तर सबैले बुझ्नै पर्ने कुरो चाहीँ के हो भने, सम्पूर्ण भ्रमबाट मुक्त भई सत्यको पहिचानबाट मात्र आफ्नो गौरबमय चिनारी कायम गर्न सकिन्छ।
२. कारभोटे
कारभोटे भन्ने शब्द केही ‍एनजिओको बुध्दिबिलास वा पाहुना लेखकहरुको लेखलाई सजाउन बाहेक कहिकतै कसैको पनि प्रयोगमा देखिन्न। न यहांका आदिबासीहरु आफुलाई कारभोटे नै भन्छन। त्यसकारण यो पुस्ता यसमाथि टाउको दुखाई राख्न जरुरि पनि देखिन्न र दुखाएका पनि पाईन्न।
३. भोटे
भोटे शब्द आफैमा बृहद अर्थ लाग्ने शब्द हो। यसको अर्थ शिङसा क्षेत्रको भोटमूलका आदिवासीमा मात्र सिमित छैन। यस्ले त नेपालको मेचि देखी महाकालीसम्मको सहित बिश्वको सम्पूर्ण भोटमूलका आदिवासीहरुलाई ईँगित गर्दछ। शिङ्साक्षेत्र कै आदिवासीहरुको सन्दर्भमा जोडेर हेर्ने हो भने यहाँको भोटमूलका आदिवासीहरुले आफ्नो जात वा थरको ठाँऊमा भोटे लेख्दा र म भोटे हुँ भनि दाबी गर्दा सो गलत वा अन्यथा ठानेर वादबिवाद गरि रहन पर्दैन। कस्ले भन्न सक्छ भोटे होईन भनेर? यति हुँदाहुँदै पनि यस क्षेत्रका अबको नयाँ पुस्ताले आफ्नो थर भोटे नै लेख्न भने छोड्दै गएको तथ्य हाम्रो अगाडी छर्लँग छ।
आज यस्को प्रमाण तपाई हाम्रो सामु प्रस्टै देखिन्दैछ फेसबुक मार्फत पनि, जस्ले बताउछ अबको पुस्ताको लगभग शतप्रतिशत युवाहरु आफ्नो थर भोटे लेख्नमा खुशी छैन बरु यस्को साटो अलि भलादमी लाग्ने शब्द भोटिया चयन गरेको पाईन्छ। भोटे भन्ने शब्द स्वयँमा ठाडो, घोँचपेच र हेपाहा पाराको भएकोले आफूलाई भोटे थरको वकालत गर्ने ब्यक्तिहरु, अगुवाहरुको साथै भोटेको दावी गर्ने नेताहरू स्वयँको आफ्नै भाई बहिनि वा सन्तानको थर समेत भोटे लेख्न छोडेको पाईन्छ। यसकारण यो वकालतले गर्दा नेपालमा केहीको लागी तत्काल आफ्नो राजनितिक मानो त भरिएला तर सर्वसाधारणलाई दिर्घकालीन भ्रम भने पक्के पैदा गर्ने देखिन्छ।
४. ल्होमी र ना-पा
अहिले आएर ल्होमी शब्द शिङ्सा क्षेत्रको लागी विबादको नयाँ बिषयबस्तु बनेको छ भने ना-पा छाँयामा ओझेल परेको बिषयबस्तु । बास्तबमा ना-पाहरूले भन्ने गरेको ल्होमेलाई आफ्नै लवजमा ढाली ज-जस्ले आफ्नो थरको रुपमा ल्होमी प्रचलनमा ल्याएको छ त्यो शतप्रतिशत नै त गलत भन्न मिल्दैन । तर पनि ल्होमी भनेको आफैमा कुनै जात वा थर भने हुदैँ होईन बरु केहीका लागी ना-पा थर हुन सक्छ । सत्य यथार्थ के भन्छ भने किमाथाँका, छुमसुर, रिदाकका बासिन्दाहरुले आफ्नो गाऊँ भन्दा तलको च्याम्ताङ, चेपुवा लगायतका सम्पूर्ण गाऊँको बासिन्दाहरुलाई ल्होमे भनेर नै सम्बोधन गर्ने गर्दछ । त्यस्तै तल्लो क्षेत्रका बासिन्दाहरुले किमाथाँका, रिदाक र छुमसुरको बासिन्दाहरुलाई ना-पा भनि सम्बोधन गर्दछ । यो क्षेत्रमा चलेको सम्बोधनको प्रचलन हिजोदेखी आजसम्म पनि यही हो। ना-पा गाऊँहरु भन्दा दक्षिणतिरको गाऊँ भएकोले उनिहरुले ल्होमे भनेका हुन । जस्को अर्थ दक्षिणतिरको मानिस हो ।
अझ घतलाग्दो कुरो त च्याम्ताङ र गुम्बाको मानिसहरु पनि चेपुवा देखि तलको सबै गाऊँको मानिसलाई ल्होमिय वा क्षु-फातेम्वा भन्ने गर्दछ । यसकारण ल्होमि शब्दले कुन जातिय समुहलाई भन्न खोजेको हो? पत्तै पाउन सकिँदैन । यस्तो जटिल परिवेशमा ल्होमी शब्दले थरको स्थान पाएको ईतिहास भने त्यति लामो देखिन्न । नेपाली मानबशास्त्रका पिता मानिएका डोर ब. बिष्टलाई सहयोगी लिएर गएका बिदेशि अनुसन्धाता क्रिष्टोफ फोन हेमिन्दोर्फ नै पहिलो ब्यक्ति हुनु पर्छ जस्ले आफ्नो पुस्तक हिमालयन ट्रेडसमा ल्होमि शब्द प्रयोग त गरेका छन तर थर वा जाति नै हो भनेर चाँहि भनेका छैनन् । पछि ख्रिस्चियन मिसनरी ओलाभि भेसलेननले शिङ्सा क्षेत्रको पनि नाबाको भाषामा चाँही हैन नाबाले भन्ने गरेको ल्होमेको भाषामा बाईबल उल्था गरि प्रकाशन गरे।
हुन त मिसनरी ओलाभि भेसलेनन स्वयँले तिमिहरुको थर ल्होमि लेख्नै पर्छ त कहिल्यै भनेनन् होला तर स्थानिय पढेलेखेका नयाँ पुस्तामा आफ्नो थर भोटे भनेर लेखीएको रिसको झ्वाँक भनौ या भोटे भन्ने बितिकै गाईखाने भनेर अछुत सरहको हिन्दु हेपाईको पिडा र हिनताभावबाट उम्किने सजिलो उपायको रूपमा यही सजिलो र अलि भरपर्दो नयाँ थर भेटेपछि के खोज्छस कानो? आँखो भने झैँ भए होलान । र त स्थानिय पढेलेखेका ख्रिष्चियन धर्म अनुनायीले आफ्नो थरलाई ल्होमि भनि न्वारान गरे आफैँले, जब कि उनिहरुलाई राम्रोसँग थाहा छ उनिहरुको थर ल्होमि त धरोधर्म हुँदै होईन । त्यसैले ना-पा र ल्होमि भनेको शिङसा क्षेत्र भित्रको उच्च भूभाग (High Altitude) र तल्लो भूभाग (Low Altitude) बस्ने मानिसहरु बिच एकअर्कालाई गरिने सम्बोधन भन्दा बढि केही हुँदै होईन, जसभित्र आफैमा धेरै धेरै जात र थरहरु रहेका छन ।
५. शेर्पा, थुदम्पा र पाखोलापा
शिङ्सा क्षेत्र भित्र ल्होमे, ना-पा देखी बाहेक पनि एकुवा गाऊँमा शेर्पा, थुदाम गाऊँमा थुदम्पा र पावाखोला गाऊँमा पाखोलापा जस्ता भोटमूलका जनजातिहरुका एक एक वटा गाऊँ छन । यी समुदायभित्र पनि आफ्ना आफ्ना थरहरु रहेका छन । त्यसकारण ल्होमी शब्दले शिङ्सा क्षेत्रको सबै भोटियाहरुलाई समेटनै सक्दैन । तर अचम्म त कतिपय लेखकहरुले र लेखहरुमा शिङ्सा क्षेत्र भित्र पर्ने किमाथाँका, चेपुवा, हटिया, पावाखोलाका सबै बासिन्दालाई एकै जाति ल्होमी भनि दाबी गरेमा देखिन्छ । यदि यही सम्वोधन गरि किमाथाँका, रिदाक, छुमसुर, थुदाम, फाराङ्, दाङगोक र पावाखोलाको मानिसलाई बोलाईयो भने गालामा थप्पड नै नपरे पनि गाली भने अवस्य आईलाग्नेछ । यस्तो घाम जतिकै छर्लङ्ग तथ्य आफ्नो सामु हुँदा हुँदै पनि बिबाद गरि रहने अवस्थालाई भने अचम्म बाहेक के भन्न सकिन्छ र?
घ. उपसंहार
शिङसा क्षेत्र भित्रका भोटमूलका आदिवासी/जनजातिहरुले एकआपसमा भावनात्मक एकता कायम गर्नको लागी यी उपायहरु गरे कसो होला?
१. माथि भनिए जस्तो जटिल गन्जागोलमा सबैले अब उप्रान्त आफ्ना सन्तान, परिवार, नातागोता वा चिनजानका ब्यक्तिहरुको थर लेख्दा भोटिया लेख्ने प्रचलन स्थापित गर्न सकिए यहाँका बासिन्दाहरुको अनेकतामा एकता कायम भई आफ्नो पहिचानलाई सशक्त, एकताबध्द र गौरबकासाथ अरुसामू छाति फैलाएर प्रस्तुत गर्न सक्ने देखिन्छ  ।
२. यदी त्यसो गर्न सकिन्न भने कसैले ल्होमि, कसैले भोटे, कसैले भोटिया, कसैले शेर्पा, कसैले ना-पा, कसैले शिङ्सा, कसैले लामा, कसैले भोच्याबा वा कसैले थर लेखेर आफ्नो दिमाग गञ्जागोल गर्नुको साटो अब उप्रान्त आफ्ना सन्तान, परिवार, नातागोता वा चिनजानका ब्यक्तिहरुको थर लेख्दा आफ्नो बँशाणुगत थर (उदाहरण - पोङसुवा, च्याबा, नापा,  सोनरिन्जेन,  हमुवा,  आदि) लेख्ने प्रचलन स्थापित गरि सजिलै गन्जागोललाई सरल बनाउन सकिने देखिन्छ । कतिपयले लामा लेख्नुमा रुचि राखेको पाईन्छ । तर लामा हुनलाई कमसेकम १० बर्ष ढब/भीक्षु अध्ययन पछि कम्तिमा ५ बर्षको उच्च तह अध्ययन त हुनु पर्यो नि । थर नै लामा लेख्दा पढ्दै नपढि नामको अगाडी डा. लेखे जस्तो आफु स्वयँको बेईज्जत गर्दै साँच्चैको लामाको समेत अपमान गरेको त ठहर्दैन?
३. आफ्नो समुदाय बाहिर प्रस्तुत हुँदा भने शिङ्सा क्षेत्रको भोटिया अर्थात शिङ्सापा भोटिया भन्दा उपयुक्त होला कि ? जसले हाम्रो अनेकतालाई एकतामा समेटला कि? हुनत हाम्रो थर शिङ्सापा होईन तर पनि सो क्षेत्रको आदिवासी हौ भनि परिचय दिन त सकिन्छ, किन कि परिचयमा स्थान त दिनै पर्छ होईन र?
साँच्चै नै अब यो पुस्ताले पनि यी भद्रगोललाई सहि दिशा नदिए आउने पुस्ताले हाम्रो मूल्याँकन खै कसरी पो गर्ला?