[सूचना विभागको डाइरेक्टर नारायण
बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल
छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो
। देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा
हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई
राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको
विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा
नेपालमै विदेशी भेट्दा ‘नेपाल बुझ्न यो पढ्नुपर्छ’ भन्दै ‘पिपल अफ नेपाल’ दिन्थे । सरकारकै निकाय (सूचना
विभाग) किताब छाप्ने, युवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन
लविङ–गज्जबको अवस्था बनेको थियो ।]
प्रश्तुति सुजित महत
डोर बहादुर बिष्ट
|
बुवा हराएको २० वर्ष बित्यो ।
जुम्लाबाट ११ जनवरी १९९६ मा नेपालगन्ज विमानस्थल उत्रिनुभएका बुवाको त्यही दिन
काठमाडौं आउने टिकट थियो । काठमाडौंमा जाडो छ, केही दिन
धनगढी बस्छु भनेर बस चढेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । जनवरी १७ उहाँको जन्मदिन
हो । यो समय परिवारलाई भावुक बनाउने, बिझाउने बेला हुन्छ । पहिला
उहाँ हुनुहुन्न भन्ने लाग्थेन । कहाँ हुनुहोला, के
गरिरहनुभएको होला भन्ने मनमा आउँथ्यो ।
समय घर्किंदै गएपछि हुनुहुन्छ
कि हुनुहुन्न होला भन्ने लाग्न लाग्यो । तैपनि उहाँ हुनुहुन्छ भन्ने आस कायम छ ।
हराएको बेला ६९ वर्षका बुवा एकदम स्वस्थ्य हुनुहुन्थ्यो । कुनै रोगव्याधीले आक्रमण
गरेको थिएन । बुवाका साथी उपेन्द्रमान मल्ल सक्रिय नै हुनुहुन्छ । विश्ववन्धु थापा
उहाँभन्दा जेठो हुनुहुन्छ । यो बेला बुवाको विचार, अहिलेको
अवस्थामा विचारको सान्दर्भिकतबारे परिवारमै छलफल पनि गर्छौं ।
पुख्र्यौली थातथलो कालीकोट हो ।
पृथ्वीनारायण शाहले काठमाडौं चढाई गर्नुअघि नै पुर्खा काठमाडौं भित्रिसकेका थिए ।
हाम्रो थातथलो ललितपुरको झरुवारासी हो । कालीकोटबाट उपत्यका छिरेका विष्टहरू
अहिलेको ललितपुरमा धेरै छन् । बागमती नजिक अहिलेको ललितपुरमा विष्टहरू
काठमाडौंमाभन्दा बेसी छन् ।
बाल्यकालमा फर्केर बुवालाई
सम्झिन्छु । उहाँ हामीलाई सोझै पढ—पढ भनेर दबाब दिनुहुन्नथ्यो ।
बरु पढनका लागि वातावरण मिलाइदिने खालको स्वभाव थियो । त्यो बेला बुबाले चेस, स्क्र्याबल ल्याइदिएको सम्झन्छु । पकेट डिक्सनरी, एटलास उपलब्ध गराइदिने गर्नुहुन्थ्यो । उहाँको यो तरिकाले
हामी सबै अभिभावकले पढ भनेर कर गर्नै नपर्ने किसिमको भयौं । अनि कुनै कुरा सिक्न
खोज्दा हौस्याउने बानी थियो उहाँको । पौडी खेल्न जानुपर्यो भन्दा सिक्नुपर्छ भनेर
हौस्याउने, रूख चढ्न पनि हुँदैन नभन्ने ।
यसरी छुट दिँदा बच्चा निर्भीक, आत्मनिर्भर बन्ने रहेछन् । यसैले उहाँ समय-परिस्थितिभन्दा
निकै अघि सोच्ने हुनुहुन्थ्यो । तैपनि बुवाको खासै टाइम हामीले पाएनौं । उहाँ
यायावर स्वभावको, घुम्ने-खोजी गर्न हिँडिरहने । घरबाट निस्केपछि महिनौं
नफर्किने । विदेश गएपछि वर्षौ । छोराछोरीको प्रेरणा बनिदिनुभयो, डोहोर्याउन टाइम उहाँसँग थिएन । बुवाकै कारण सानैदेखि
घुम्ने बानी बनेको थियो ।
सामन्ती प्रभावको समाजमा उहाँ
दरबारले पत्याएका मान्छे । तैपनि त्यति पहिले नै यस्तो विद्रोही चेत कहा“बाट आयो होला भनेर घोत्लिन्छु । विष्टहरू हृष्टपुष्ट थिए, सैनिक हुन्थे । राणाकालको अन्ततिर लिम्बुवानमा विद्रोह भएपछि
बबरशमशेरले मेरो हजुरबा मेजरलाई सैनिक टुकडी लिएर दमनमा जान भनेछन् । उहाँले सोझै
नेपाली दाजुभाइसँग लड्न जागिर खाएको हैन भनेर इन्कार गर्नुभएछ । बुवामा विद्रोही
स्वभाव रगतमै थियो होला ।
बुवा बडा अव्यवस्थित
हुनुहुन्थ्यो । अनुशासित रुटिन थिएन । घरमा छँदा बिहान चाँडै उठेर बगैंचाको
स्याहार गर्नु उहाँको नियमित काम थियो । लेखपढमा केही रुटिन थिएन । दुईतीन दिन
पढेको पढ्यै पनि गर्नुहुन्थ्यो,
दुईतीन दिन किताबै नछोइ पनि
बिताइदिनुहुन्थ्यो । मुडअनुसार काम गर्ने स्वभाव थियो । लवाइमा तडकभडक थिएन ।
जागिरमा दौरासुरुवाल लाउनै पर्ने । अरूबेला जे सजिलो हुन्छ त्यो लगाउने
गर्नुहुन्थ्यो । आफैं गएर राम्रा लुगा किन्ने उहाँलाई फुर्सद थिएन । दौरा च्यातिएछ
भने तुन्द्याओ न त भन्नुहुन्थ्यो । तर सफा टक्टकार हुनुपर्थ्यो।
उहाँ त्रिचन्द्र कलेजबाट बीए
पास । लेखपढमा औधी रुचि । शेर्पाबारे अनुसन्धान गर्न नेपाल आएका ब्रिटिस प्रोफेसर
हाइमन्डर्फको सहयोगी भई शेर्पाको अनुसन्धान गर्न सोलुखुम्बु गएपछि उहाँको बाटो
बदलियो । हाइमन्डर्फको संगतमा उहाँमा जातजातिको अध्ययन गर्ने प्यास जाग्यो र
अनुसन्धान विधि पनि सिकायो । तर,
तिनै हाइमन्डर्फ उनका अध्ययनमा तगारो
बनिदिए । सन् १९६०–१९६२ उहाँ युनिभर्सिटी अफ लन्डनमा अध्यापन गर्नुहुन्थ्यो ।
उहाँले मानवशास्त्रमा डिप्लोमा गर्नुभयो । थप अध्ययन गर्ने वातावरण बिथोलिदिन थाले
।
हाइमन्डर्फ नेपाल बुझेको
विद्वानको रूपमा पश्चिमा देशमा कहलिइसकेका थिए । सँगै काम गर्दा बुवाको मेधावी पनि
नबुझ्ने कुरै थिएन । नेपाल विज्ञको आफ्नो ताज खोसिएला कि भन्ने डर भयो । यसैले
उनले पश्चिमा देशमा पढ्न नदिन हरसम्भव प्रयास गरे । मैले पनि बीए पास गरेपछि
मानवशास्त्रमा पीएचडी गर्ने भएँ । ‘सहयोग गर्ने हो ? ’ भनेर एकचोटी हाइमन्डर्फलाई जिस्क्याएको थिए“ । उनले रातोपिरो मुख लाएर मलाई झम्टिउलाझै गरेका थिए ।
बुुवालाई रोक्न खोज्ने उनले मलाई सघाउने सम्भावना थिएन, उनको सहयोग लिनु पनि थिएन–खाली
केभन्दा रहेछन् भनेर जा“च्न खोजेको थिए“ । मैंले फ्रान्समा पढ्ने
प्रबन्ध मिलाएँ, मास्टर्स र पीएचडी पेरिसमै सकाएँ ।
पहिलो किताब ‘पिपल अफ नेपाल’ (सन १९६७) ले नै बुबालाई चर्चित
बनायो । लन्डनबाट फर्केपछि यूएसएआइडी ज्वाइन गर्नुभएको थियो, अनुसन्धानदाताको पदमा । त्यही रहँदा पिपल अफ नेपाल लेख्नुभयो
। त्यो किताब लेख्दा हामी कालीमाटी बस्थ्यौं, बुवाको अफिस रविभवनमा थियो ।
लेख्नका लागि उहा“लाई राति अबेरसम्म बस्न पाउने सुविधा थियो । बुवा राति
अबेरसम्म बसेर लेख्नु हुन्थ्यो । भाइ (केशरबहादुर विष्ट) र म टिफिन क्यारिअरमा भात
लिएर यूएसएडको अफिसमा जान्थ्यौं । किताब सिध्याएपछि उहाँले जागिर छाड्नुभयो ।
सूचना विभागको डाइरेक्टर नारायण
बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल
छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो
। देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा
हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई
राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको
विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा
नेपालमै विदेशी भेट्दा ‘नेपाल बुझ्न यो पढ्नुपर्छ’ भन्दै ‘पिपल अफ नेपाल’ दिन्थे । सरकारकै निकाय (सूचना
विभाग) किताब छाप्ने, युवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन
लविङ–गज्जबको अवस्था बनेको थियो ।
राजा महेन्द्रले कुरा सबैका
सुने तर मुद्दा लगाउन मानेनन् । महेन्द्रले सरकारी निकाय छाप्ने, युवराज उपहार दिने अनि तिमीहरू मुद्दा लगाउनुपर्छ भन्ने
फटाहाहरू भनेरे भन्ने सुनियो । जातजाति, भेषभूषा, संस्कृतिका बारे छर्लंग पारेर जनजाति भर्सेज बाहुन-क्षेत्रीको
कलह रोपिदियो भन्ने अनुदार अहिले पनि नभेटिने हैनन् । तर आफ्नै देशका जातजातिको
परिचय लेख्नुलाई गलत ठान्ने कस्तो प्रवृत्ति होला ।
सन् १९७२ देखि १९७५ बुबा
ल्हासामा महावाणिज्य दूत हुनुहुन्थ्यो । फर्केपछि ल्हासाकै परिवेशमा ‘सोताला’
उपन्यास र ‘रिपोर्ट फ्रम ल्हासा’ लेख्नुभयो । उहाँ एउटै काममा
लामो समय टिक्नुहुन्थेन । ल्हासाबाट फर्केपछि सरकारी सेवा निरन्तरता दिन चाहनु भएन
। अघि १९५२ देखि १९५७ आदर्श कन्या निकेतन, ललितपुरको हेडमास्टर हुनुभएको
थियो ।त्यसपछि शिक्षकहरूलाई तालिम दिने जागिर खाएर डँडेलधुरा र धरानमा बिताउनुभएको
थियो । ल्हासाबाट फर्केपछि पञ्चायत जाँचबुझ केन्द्रमा केही समय काम गर्नुभयो ।
१९९१ मा प्रकाशित ‘फेटलिजम एन्ड डेभलपमेन्ट’ ले
नेपाली समाजलाई हल्लाइदियो । हिन्दुधर्मबाट विकृत भएर बनेको बाहुनवादले मुलुकको
विकास हुन दिएन भन्ने उहाँको तर्क थियो । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रमा वर्गीकरण गरी हिन्दु धर्ममा कट्टर बनाउने
काम मनुस्मृतिले सुरु गर्यो । तिमीले गर्ने काम जन्मिुनुअघि नै निर्धारित छन्, फुत्किन पाउँदैनौ भनियो । काम गर फलको आस नगर, जुन कामका लागि जन्मिएका हौं, त्यही गर
भनियो । यो जुनीको फल अर्को जुनीमा पाउँछौ भनेपछि त मान्छेले काम नगर्ने भयो, अर्को जुनीको आश गरेर बस्नुपर्ने भयो । मान्छे परिणाममुखी
बन्दैन । भाग्यमा विश्वास गर्ने भएपछि अन्ततः विकास भएन भन्ने उहाँको निष्कर्ष हो
।
धेरैजना रिसाए । ब्राह्मण
साथीहरू ‘म पनि बाहुन, खोइ म भाग्यवादी छैन’ भन्थे । पढालिखा अधिकांश बाहुन भएकाले एउटा दृष्टिकोणले
मात्र हेर्ने गरियो । यो बाहुनमाथिको हमला ठानियो । अहिले पढालिखा विद्वान अरू पनि
छन् । बाहुन हुनुको फाइदा लिएर तरक्की गर्ने ब्राह्मणमात्र छैनन् । जुन
प्रवृत्तिको कारण उहाँले समाज पछि पर्यो भन्नुभएको छ, त्यही प्रवृत्तिबाट फाइदा लिने, पक्षपोषण गर्नेले हमला गरेका हुन् । अहिले त्यो सोच त हाबी
छैन । सैद्धान्तिक रूपमा प्रश्न गर्ने बाहुन, गैरबाहुन जोसुकै हुन सक्छ ।
उहाँको विचारलाई जुनबेला आवश्यक पर्छ उठाउने प्रवृत्ति छ । माओवादीले पनि कुनै
बेला भाग्यवादको कुरा गरे । तर आफैं भैंसी पूजा गर्न थालेपछि त्यो मुद्दा उठाउने
कुरा भएन । कसैको विरोध गर्नु थियो, मुद्दा उठाए । अब आफैं
बाहुनवादमा डुबुल्की मार्न थाले ।
आफ्नो लागि केही पनि नगर्ने
उहाँको बानी थियो । लुगाफाटो कहिल्यै आफू नकिन्ने । हामी सानै छँदा मुमाले
ल्याइदिनुहुन्थ्यो, हामी ठूलो भएपछि बुवाको दौरा फाटिसकेछ ल्याइद्याओ भन्दिनु
हुन्थ्यो । दौरा फाटेछ भन्दा तुन्द्याओ न त भन्नुहुन्थ्यो । जुत्ता फाटिसकेको
हुन्थ्यो, चलेकै छ भन्नुहुन्थ्यो । यो त भएन भनेर ल्याइदिनपर्ने ।
एकचोटी बुवा जापानमा हुँदा म पनि पुगेँ । चिसो ठाउँ छ, बुवाले न्यानो लुगा लगाउनु भएको छैन । कोठामा खोजेँ, न्यानो लुगै छैन । अनि मैंले बजार लिएर गई लुगाहरू छानें, पैसा आफैं तिर्नुभयो ।
आफ्नो भएपछि अरूलाई दिइहाल्ने बानी
थियो बुबाको । केही चीज पायो भने दिइहाल्ने । विदेशबाट केही सामान ल्यायो भने पनि
कल्लाई दिउ कल्लाई दिउ हुन थाल्थ्यो । खल्तीमा पैसा भएपछि अब कल्लाई दिउ हुन्थ्यो
। जसलाई आवश्यक छ भन्ने ठानेको हुन्छ दिइहाल्ने । बुढेसकालमा चाहिन्छ भनेर जोगाउने
भन्ने थिएन । आफ्नो लागि नसोच्ने भएकाले यो पुगेन, त्यो
पुगेन भन्ने गुनासो सुनिएन । राजा वीरेन्द्रले एकदम मन पराउँथे । वीरेन्द्रले
डोरबहादुरले केही मागे हुन्थ्यो भने जसरी धेरैचोटी व्यवहार गरे । तर उहाँले कहिले
माग्नु भएन । राजाको पनि इगो हात तल पारेर मागेपछि दिने हो । यही बानीको कारण
बक्सिसमा केही पाउनु भएन, त्यो बेला बक्सिस पाउँदा गर्व हुने बेला थियो, अहिले हामीलाई नपाएकोमा गर्व छ ।
मानवको अध्ययन गरेँ, ती पछि पर्नुका कारण पनि खोतलेँ तर इतिहास थाहा पाउँदैमा के
भयो त, तिनीहरू पिछडिनुको कारण लेखेर के भयो त अब तिनलाई विकास गरेर
देखाइदिन्छु भनेर कर्णाली कर्णाली इन्स्टिच्युट खोल्नु भयो । विकासको एउटा मोडल
देखाइदिन्छु भनेर सुरु गर्नुभएको थियो । खस जातिको थप अनुसन्धानका साथै विकास
गर्ने उहाँको योजना हो, कर्णाली इन्स्टिच्युट । १९९१ मा सुरु गरिएको इन्स्टिच्युटले
स्थानीय शिक्षकहरूलाई तालिम दिने, विदेशी स्वयम्सेवक बोलाएर तालिम
दिलाउने, शैक्षिक सामग्री उपलब्ध गराउने आदि काम गर्थ्यो ।
कीर्तिपुरका सिकर्मी, डकर्मी लगेर कर्णालीमा तालिम दिइएको थियो । केटाकेटीलाई
खेलकुदमा उत्प्रेरित गथ्र्यो । कर्णालीमा दुर्गन्ध आए, बस्ती आएछ भन्छन् ।
सरसफाइमा सचेत गराउने प्रयास
गर्यो । आधारभूत स्वास्थ्यमा सचेत गराउने काम गर्यो । जेहेनदार विद्यार्थी
काठमाडौं ल्याएर प्रयोजक खोजेर पढाउने काम पनि गर्यो । ठूलो दाताको सहयोगमा सुरु
गरिएको थिएन त्यो । अर्थवाच भन्ने स्वयम्सेवी सञ्जालले सघाएको थियो । जर्मन राजदूतले
आफ्नो फन्डबाट माइक्रोहाइड्रो आदिमा लगानी गरिदिएका थिए । बुवाले कन्सल्टेन्सी, लेक्चरबाट पाएको पैसा पनि यसैमा हाल्नुहुन्थ्यो । गाउँलेसँगै
बस्ने, खाने,
तिनलाई सचेत गराउने शैलीमा कार्यक्रम
चलेको थियो । आठ वर्षको जागिरमा इसिमोडमा विरक्तिएपछि म पनि केही वर्ष बुवालाई
सघाउन जुम्ला बसेँ । तर, डानिडाको स्थानीय स्वायत्त शासन कार्यक्रममा जागिर पाएपछि
फर्किएँ । इन्स्टिच्युट सुरु भएको पाँच वर्षमै हराउनु भएकाले मोडल देखाइदिने
उहाँको सपना पूरा भएन ।
बुवाले बीए पास गर्नुभएको ।
मैले मानवशास्त्रमै पीएचडी गरेँ । तर बुवाको पदचिन्हमा हिँड्न सकिनँ । मलाई कतिले
ज्ञानी हुन बुवाजस्तै घरपरिवारको वास्ता नगरी यायावर भएर हिँड्नपर्ने रहेछ पनि
भन्छन् । तर त्यस्तो हैन । ज्ञानी हुन यायावर नै हुनुपर्दैन । मेरो बुवा यायावर
हुनुभयो । तर घरपरिवार सबै सम्हालेर पनि ज्ञानी भएका नेपालमै पनि छन् । मुख्य कुरा
संकल्प हो । निस्वार्थ संकल्प भएपछि पूरा गर्ने बाटो विविध हुन्छन् । कसले घर
गृहस्थी छाडेर गर्छन्, कसैले पारिवारिक दायित्व पूरापूर गरेर पनि लक्ष्य प्राप्त
गर्छन् । मैले बुवाजस्तो दुःख गरिनँ ।