September 3, 2014

रजोवती महिला विटुला होइनन् उनीहरूलाई हेर्ने दृष्टि विटुलो हो

[आदिकालमा रजश्वलालाई ऋतुदर्शन र रजोवतीलाई पुष्पवती भन्ने गरिन्थ्यो । रजोवती हुनु भनेको सम्मानित हुनु हो भनी परिवारजन त्यस्ता नारीको अगाडि बसेर राम्राराम्रा कुरा सुनाऊँथे । यो कुनै पनि नारीलाई अलिकति लजाउन सिकाउने ओज हो । मासिक धर्म पीडादायी नै भए पनि मातृत्वको आधारशिला भएकोले यसलाई सबै नारीले प्राकृतिक नियम भनी सहस्र स्वीकार गरेकै छन् । यसको अघिपछि शारीरिक पीडा हुने हुनाले यो माया गर्नुपर्ने समय हो नकि तिरष्कार गर्ने । डिस्मेनोरियाले सताउने यो समयमा छाउपडि गोठमा लगेर मिल्काउने वा अछूत भएको भनेर हेंला गर्ने कार्य पूर्णतः संवेदनहिनता हो । यस्तो बेला आमा र लोग्नेले साथ नदिनु भनेको मानवीयता पूर्णतः समाप्त भएको अवस्था हो । तर मानवअधिकारको ढ्वाङ् पिट्नेहरूले पनि रजोवती नारीलाई अछूत बनाएर मानवअधिकार हनन भइरहेको देखेनन् । यसलाई उनीहरूको सहनशीलताको आधार मान्नुको साटो कमजोरी ठानेर समाजले यो पीडामाथि नूनचुक छर्ने काम गरेको छ छाउपडि प्रथा चलाएर र अछुतको आरोप लगाएर । एउटी आइमाई खुट्टा करकर खाएको पेट दुखेको पीडाले असहाय भएर छटपटाएको अवस्थामा उसलाई प्रेम गर्ने हो कि लत्याएर झन तिरष्कृत गर्ने हो भन्नेसम्मको सचेतनता नै हाम्रो समाजमा अभाव रहेको छ ।]



जा, कर्म र शारीरिक उत्सर्जनको कारणले कोही पनि अछूत हुदैन । प्राकृतिक कुरालाई कहिले पनि अछूत मान्न मिल्दैन । रजश्वला भएकी नारी  अछूत हो छुन हुन्न भन्ने कुरा शास्त्र अर्थात एवं विज्ञान दुवै विपरित तथा समाज विरोधी छ । यही रगत जापानमा भएको अनुसन्धानबाट मुटुको औषधि हुन गइरहेको शायद धेरैलाई थाहा होला, नहोला । अबका दिनमा यिनै विरोधीहरू घरघरमा शिशी लिएर स्रावित रज माग्न आउन बेर लाउन्नन् ।

पश्चिम नेपालको छाउपडि गोठ प्रथा र अन्यत्रको रजश्वला भएकी नारीलाई अछूत ठान्ने मान्ने कुरा परम्परागत ठालूहरूले सिर्जना गरेको महिलामाथिको अन्यायको एउटा नमूना हो । त्यसै कुप्रथा र अन्धविश्वासलाई देवता रिसाऊँछन् भनी आजसम्म निरन्तरता दिइनु जडसूत्रवादको पराकाष्ठा हो । यो कार्य धार्मिक, वैदिक एवं वैज्ञानिक तीनै दृष्टिकोणबाट अनुपयुक्त छ । यसतर्फ ख्यालै नगरी नारीवर्गले लहलहैलाई निरन्तरता दिनु र डलरवादी नारी गैससहरूले पनि यो पाटोलाई नछोइ अविरल स्वीकार गर्नु भनेको नारीले आÏनोस्तर आफैं घटाउनु हो ।

आदिकालमा रजश्वलालाई ऋतुदर्शन र रजोवतीलाई पुष्पवती भन्ने गरिन्थ्यो । रजोवती हुनु भनेको सम्मानित हुनु हो भनी परिवारजन त्यस्ता नारीको अगाडि बसेर राम्राराम्रा कुरा सुनाऊँथे । यो कुनै पनि नारीलाई अलिकति लजाउन सिकाउने ओज हो । मासिक धर्म पीडादायी नै भए पनि मातृत्वको आधारशिला भएकोले यसलाई सबै नारीले प्राकृतिक नियम भनी सहस्र स्वीकार गरेकै छन् । यसको अघिपछि शारीरिक पीडा हुने हुनाले यो माया गर्नुपर्ने समय हो नकि तिरष्कार गर्ने । डिस्मेनोरियाले सताउने यो समयमा छाउपडि गोठमा लगेर मिल्काउने वा अछूत भएको भनेर हेंला गर्ने कार्य पूर्णतः संवेदनहिनता हो । यस्तो बेला आमा र लोग्नेले साथ नदिनु भनेको मानवीयता पूर्णतः समाप्त भएको अवस्था हो । तर मानवअधिकारको ढ्वाङ् पिट्नेहरूले पनि रजोवती नारीलाई अछूत बनाएर मानवअधिकार हनन भइरहेको देखेनन् । यसलाई उनीहरूको सहनशीलताको आधार मान्नुको साटो कमजोरी ठानेर समाजले यो पीडामाथि नूनचुक छर्ने काम गरेको छ छाउपडि प्रथा चलाएर र अछुतको आरोप लगाएर । एउटी आइमाई खुट्टा करकर खाएको पेट दुखेको पीडाले असहाय भएर छटपटाएको अवस्थामा उसलाई प्रेम गर्ने हो कि लत्याएर झन तिरष्कृत गर्ने हो भन्नेसम्मको सचेतनता नै हाम्रो समाजमा अभाव रहेको छ ।

छाउपडि एवं रजश्वलालाई अछूत मान्ने कुरा वेदकालपछि विकसित भएको पुरुषप्रधान समाजले खडा गरेको विकृति एवं नारीमाथिको अत्याचार हो । यसलाई पीडा नबुझ्ने  पुरुष  एवं मेनोपोज भएका आइमाईले नै साथ दिइरहेका छन् । आइमाई नै आइमाई विरोधी छन् र उनका शत्रू उनै हुन् जसमा पुरुषको मौन समर्थन रहेकोछ । मनुस्मृतिले पनि पुरुषलाई उचालेर नारीलाई पछार्ने काम गरेको छ । यसैले यो चार दिन संभोग गरिहालेमा पनि पुरुषले प्रायश्चित गर्नसक्ने गरी पुरुष प्रधान नियम दिएको छ यसले । त्यो बेलाको समाजले मात्र होइन आजको समाजले पनि संसारमा जात भनेको मानवताको एउटै जात मात्र रहेको छ भन्ने शाश्वत यथार्थलाई अस्वीकार गर्नु साँच्चिकै  लाजमर्दो कुरा हो ।

तीज र पञ्चमीको चहचहैमा फसाएर समाजले आफूलाई दोस्रो दर्जाको नागरिक तुल्याइरहेको कुरा यो पाटोमा लागेका नारीहरूले बु¤न सकिरहेका छैनन् । वास्तवमा इन्द्रले वृत्तासुरलाई मार्नु अघि आइमाईको योनि रञ्जन होस् कि निरञ्जन होस कसैलाई मतलव थिएन। वृतासुरलाई मारेको ब्रह्महत्या पखाल्न यो चलन चलेको कुरा भविष्योत्तर पुराणले गर्छ । वेद उपनिषद् मात्र समाजको मान्य ग्रन्थ हो । पुराण भनेको सामयिक कानून हो जो समय अनुसार बदलिन्छ ।

कथामा भनिएको छः ब्राह्मण पुत्र वृत्तासुरलाई स्वर्गका राजा इन्द्रले मारेपछि इन्द्रलाई ब्रह्महत्याको दोष  लागेछ । इन्द्रलाई दोषमुक्त गर्न ब्रह्माले त्यो ब्रह्महत्यालाई चार भागमा विभाजन गरी अग्निको ज्वाला, नदी, पर्वत र आइमाईको रजमा फ्याकिदिएका छन् । यसैले चारैवर्णले रजश्वला भएकी आइमाई चार दिनसम्म त्याग गर्नु किनभने पहिलो दिन ऊ चण्डाल्नी समान, दोस्रो दिन ब्रह्मघातिनी समान, तेस्रो दिन धोविनी समान भई चौथो दिनमाात्र शुद्ध हुन्छे । यस्तो अवस्थामा पनि जानी नजानी छुवाछूत हुने हुनाले त्यो पाप नाश गर्न ऋषिपंचमीको  ब्रत गर्नु उचित छ ।

जसरी बाइबलमा मान्छेको पुनर्जन्म हुन्छ भनी लेखिएको कुरा शासकले मेटाए त्यसैगरी उपनिषदमा  नलेखिएको कुरा शासकवर्गले नै पूराण खडा गरी त्यसमा हाले । बचनको भरमा जात तोक्ने, गोत्र सार्ने जमानामा इन्द्रले राजाको रूपमा गरेको अपराध नारीमा सारे भन्ने कुरा विश्वास गर्न धर्मभिरु सोझा मान्छेलाई गाह्रो भएन । कसैले पनि बुझेन त्यो कथा हो भन्ने कुरा किनकि मानिसलाई देवता र भगवानको बीचमा शायद भिन्नता छ भन्ने थाहा थिएन । यो कुरा अझै पनि कति मानिसले बुझेका छैनन् ।

तीज बारेमा पनि भ्रम छरिएको छ । स्वास्नीले ब्रत बसेर लोग्नेको आयु बढ्ने कुरा वैदिक, वैज्ञानिक कुनै कुराबाट पनि पुष्टि हुँदैन  । हरेक कुरा पैसा र सम्पत्तिमा तौलिने यो जमानामा मरेको सत्यवानलाई बिउँताउने सावित्रीजस्ता धीर नारी अहिले कोही पनि छैनन् । तीजको कथा बारे सोही भविष्योत्तर पुराणमा भनिएको छः पोइको मृत्युको पीडा सहन नचाहने नारीले सोमवार परेको भाद्र शुक्ल तृतीयाको दिन पार्वतीसहित भएको बालुवाको शिव लिङ्ग बनाएर पूजागरी रातभर जागा रही आफ्ना पतिसहित भक्तिपूर्वक पार्वतीले शिवलाई पाएको कथा सुनेमा सौभाग्य बढ्छ, राजसी ऐश्वर्य भोग्न पाउँछे , सात जन्मसम्म रानी हुन्छे, विधवा पनि हुन्न र पतिलेसहित सायुज्य मुक्ति पाउँछे  । यो कथा पनि धम्कीले पूर्ण छ । कथा र समाज अलग धारमा बगेको छ । कथाले जोइपोइ दुवैले संयुक्त पूजा गरी कथा सुन्नु भनिएको छ । तर त्यसो त कसैले गरेका छैनन् ।

पुर्खाले मानेको हामीले पनि मान्नुपर्छ नत्र देउता रिसाएर अनिष्ट हुन्छ भन्ने भन्दा बढी कुरा छाउपडी बार्ने गरेका आइमाईलाई थाहा नै छैन । यसको कारण कसैले पनि बताउदैन । बताउन् पनि कसरी जब कुनै आधार नै छैन । ओढने ओछ्याउने खाट तकिया ढोका ¤याल केही नभएको थोत्रो छाप्रोमा अछूत भनी महिनाको चार दिन बस्नुपर्ने बाध्यता पार्ने समाजलाई कुन विशेषण दिने वास्तवमा यसको लागि कुनै शब्द पनि हुन्न । यो समयमा नुहाउन, दाँत  माझ्ननङ् काट्न नहुने, पलङ्मा सुत्न नहुने कसैसग बोल्न नहुने नियम बनाई नारी फोहोरी भइरहनुपर्छ भन्न खोजेको छ समाजले । सात दिनसम्म सामान्यतः रक्तस्राव हुने हुँदा  चार दिन मात्र अछूत हुने र अरु दिन छूत हुने भन्ने कुरा आफैंमा किन छिनोफानो हुन सकिरहेको छैन ? यसकुरालाई  पनि कसैले महत्व दिने गरेको छैन । यसैबाट पनि रजश्वला भनेको स्राप नभई बरदान हो भन्ने कुरा प्रष्ट हुन्छ । नारीवर्गको रातो पट्टिको अत्यधिक मोह र पोइप्रतिको अति आस्थाले पनि समग्रमा पुरुषहरूले उनीहरूलाई लोभ्याएर नथाहापाउने गरी खसालेका हुन् भन्ने छर्लङ्ग हुन्छ । वास्तवमा यहि हो समाजले सिर्जना गरेको आतङ्क । मातृसत्ता चलेको बेलामा नारीले पुरुषमाथि गरेको अधम व्यवहारको मूल्य चुकाई मात्र हो यो ।

यो समस्या अन्त मात्र होइन काठमाडौंको मै हुँ  भन्ने घरमा पनि छ जहाँ  बुहारी रजोवती भएको बेलामा छुवाछुतको बहानामा सासूले गर्ने करकरको कारण घरमा बस्न पाउन्न र माइतीको शरणमा जानुपर्छ । शायद लाग्दो हो ती सासूहरू र त्यस्ता घरका केटाहरूलाई कि उनीहरू आमाको रक्त सागरको आहालमा नपरीकन सिधै बाबुबाट नै फुत्त जन्मिएका हुन् ।

वास्तवमा दश वर्षदेखि पचास वर्षसम्मका महीलाको पाठेघरमा हरेक महीना रगत र तन्तुको तह बाक्लो भएर लाग्ने गर्छ । गर्भाधारणको लागि नारीले निकाल्ने अण्डामा पुरुषको शुक्रकीट एकआपसमा भेट्ने चौतारो हो त्यो । गर्भाधारण नभएको अवस्थामा त्यो रगत र तन्तुको बाक्लो तह फुटेर योनीमार्गबाट बाहिर निस्कनु नै रजश्वला हुनु हो । त्यस रक्तिम पदार्थ पाठेघरबाट निस्कन बढीमा सात दिन लाग्ने गर्छ । नारीको जीवनकालमा यो क्रम चारसय पटक दोहरिने गर्छ । गर्भ रहेमा पाठेघरमा कोषिकाको  तह लाग्ने गर्दैन र गर्भ नरहेमा लाग्ने गर्छ कुरा यत्ति मात्र हो । वास्तवमा यि सब कुरा हरेक नारीको नितान्त प्रकृतिप्रदत्त निजी विषय हुने हुँदा  यसलाई समाजले अनेक बहानामा निग्रानी राख्नुपर्ने कुनै जरुरत नै छैन । न यसको नाममा पूजाआजा र भतेर गर्नु आवश्यक छ । जति यसलाई वेवास्ता ग-यो त्यति नै समाज सभ्य भएको ठहर्छ । यसैले खोट सृष्टिमा नभइकन दृष्टिमा मात्र रहेको छ ।

गर्भरहन रजश्वला हुनु आवश्यक छ । गर्भोपनिषद्ले भनिरहेको छः रजमा मिसिन आइपुगेको शुक्रकीटको अण्डासंग  पहिलो संयोगबाट थलथले भ्रूण बन्छ । सात रातमा त्यो भ्रूण बढेर भूल्भुल गर्ने हुन्छ । पन्ध्र दिनमा त्यो भ्रूणको स्थूल आकार बन्छ । एक महीनामा त्यो अलि दह्रो हुन्छ । दुइ महीनामा टाउको बन्छ । तीन महीनामा खुट्टा बन्छ । चार महीनामा गोलिगाँठो, पेट तथा कम्मर बन्छ । पाँच महीनामा करङ बन्छ । छैठौं महीनामा आँखा, नाक, कान बन्छ । सातौं महीनामा त्यो भ्रूण पूर्ण जीव हुन्छ । आठौं महीनामा सबै लक्षणले मान्छे बन्छ । नवौं महिनामा ज्ञानेन्द्रिय आदि सबै लक्षणलेयुक्त भई जन्मन लायक हुन्छ । यो प्रविधिबाट जन्मेका मान्छेले नै आफ्नै आमा, पत्नी रजोवती हुँदा दा अछूतको व्यवहार गर्ने भएपछि यो भन्दा ठूलो अतिचार अरु के हु्न्छ ।

सृष्टिमा सबै बरावर छन् । यसैले रजोवती महिला विटुला होइनन् उनीहरूलाई हेर्ने दृष्टि विटुलो हो । उनीहरू त पुष्पवती हुन् । हो उहिले स्राव व्यवस्थापन गर्ने उचित प्रावधान नहुँदा दा एकै ठाउँमा बस्नु बुद्धिमानी थियो होला । अहिले रजपुस यत्रतत्र पाइने समयमा पनि मासिक चक्रको अवधिलाई अछुतपन एवं तीज तथा पञ्चमी पूजास सँग  समाहित गरिरहनु र नारीवर्गले पनि त्यसैलाई रमाइलो मान्नु संस्कृति होइन विकृति नै हो ।


________________

*  डा. विश्वदीप अधिकारीTel: ९८४९७४०३२४

(यो भन्दा बढी थाहा पाउन शब्दार्थ प्रकाशन (९८४१४९६१०३ vknepal@hotmail.com_) ले २०७० बैशाखमा छापेको मैले लेखेको अनग्निका नामक उपन्यास पढ्न सकिन्छ ।)