[Should Nepal go back to become a Hindu country again as it used to be until 2008 with over 80% Hindus in the country ? According to Nepal's current Interim Constitution - 2063 Article 4(1) the country is a secular country with Buddhists 10.74%, Islamists 4.20%, Kirats 3.60% Christians 0.45% and others 0.39%(Nepal Population Census Report - 2001) . But some people are demanding the country be declared a Hindu country again. The ex-royals including the dethroned King Gyanendra Bir Bikram Shah was also heard sometime ago voicing for a Hindu nation. The present allied Nepali Congress (NC) and Nepal Communist Party United Marxist-Leninist (CPN-UML) government virtually may long for a 'Hindu Nation Nepal' again. Below is an article from The Annapurna Post today in which the author says this contentious issue may cause long delay in writing and promulgation of a New Constitution for the country. - Editor]
नेपाल हिन्दु राज्य
हुनुपर्छ ?
लेखक आदित्यमान श्रेष्ठ
नेपाललाई हिन्दु राज्य बनाउने कि नबनाउने सबालमा पस्नुअगाडि हिन्दुबाट हामीले के बुझ्छौं भनेर सोध्नु जरुरी छ। अझ त्योभन्दा अगाडि यो बुझ्नु जरुरी छ कि हिन्दु भन्ने कुनै धर्म या आस्था संसारमा कतै छैन। भारत वर्षको सनातन धर्म या आस्थालाई विदेशीहरूले यो नामकरण गरेका हुन्।
त्यसैकारण हिन्दु धर्मका आन्दोलनकारीहरूले यसलाई सनातन धर्म भन्न थालेका छन्। जे भए पनि चलनचल्तीमा आएका शब्दावलीलाई हामीले सहर्ष स्वीकार गर्ने गर्छौं। हिन्दुलाई धर्म भने पनि आस्था भने पनि यसलाई राम्ररी बुझ्नु जरुरी छ।
हिन्दु एउटा यस्तो आस्था हो, जसलाई ठम्याउनु कठिन छ। किनभने यसको सिंग पनि छैन, पुच्छर पनि छैन। यो कति व्यापक छ भने यसलाई कसैले पूर्णरूपेण बुझेको छ भनेर भन्न गाह्रो पर्छ। यसबारेमा राम्ररी बुझ्न खोज्दा हात्ती र अन्धाहरूको कथाको सम्झना आउँछ। कसैले यसको खुट्टा छामेर मन पराएका देखिन्छन् भने कसैले यसको पुच्छर छामेर मन नपराएका देखिन्छन्।
एकातिर सारा मानवतालाई बन्धु मानेको छ भने अर्कोतिर यसले छुवाछूत जस्तो अमानवीय प्रचलन ल्याएको छ। यसलाई सजिलो किसिमले बुझ्ने र ग्रहण गर्ने मानिसका लागि सजिलै छ। तर धेरैजसो मानिसले यसलाई अप्ठेरो र असजिलो किसिमले बुझिदिँदा अनेक भ्रम र द्वन्द्वको सिर्जना भएको देखिन्छ। हामी पनि यसै जालोमा परेकाले हाम्रो बीचमा भ्रम र द्वन्द्व पैदा भएका छन्।
सनातन धर्मको अर्को नाउँ हिन्दु धर्म मानेर गए पनि यसका अंगप्रत्यंग व्यापकरूपले फैलिएका छन्। यस धर्मका तीन मूर्ति छन् ब्रह्मा, विष्णु र महेश्वर। एउटा हिन्दु अनुयायीले सबैलाई माने पनि हुन्छ नमाने पनि हुन्छ। कसैले म विष्णुलाई मात्र मान्छु भनेर विष्णुको मात्र पूजापाठ गरेर बस्न पाउँछ। कसैले महेश्वरलाई मात्र मान्छु र उसको मात्र पूजापाठ गर्छु भने पनि उसलाई छुट छ।
हिन्दुहरूले ब्रह्मालाई पूजा गर्ने प्राय: चलन छैन तर कतैकतै उनको मन्दिर बनेको र पूजाआजा गरिएको पनि पाइन्छ। यी सबै अनुयायी हिन्दु भनेर कहलिन्छन् र हिन्दु मानिन्छन्। रामायण कथाअनुसार रामलाई देवता र असल पुरुष ठानिन्छ र रावणलाई राक्षस र खराब पुरुषको रूपमा चित्रण गरिएको छ। तर श्रीलंकामा रावणको मन्दिर बनेको छ र त्यहाँ नित्य पूजा हुन्छ। राम र रावणको पूजा गर्नेहरूलाई हिन्दु भनेरै मान्छन्।
यस प्रचलनलाई सजिलो र स्वाभाविक रूपमा लिइयो भने विवाद खडा हुँदैन र त्यसरी नै लिइएको देखिन्छ। यसबाट के बुझिन्छ भने यस धर्मले आफ्ना अनुयायीलाई पूर्ण छुट दिइराखेको छ। यसमा यस्तै धेरै छुट रहेकाले हिन्दु धर्मलाई एउटा आस्थाको रूपमा नलिएर एउटा जीवनशैलीको रूपमा लिने गर्छन्।
हिन्दु धर्मको मूल मन्त्र ब्रह्मलाई जान्नु हो। त्यसैले अहम् ब्रह्मास्मी भन्छन्। म नै ब्रह्म हुँ भन्ने तथ्य जसले बुझ्न सक्छ त्यो नै हिन्दु हो। यसको मूलभूत कुरा मानिसले आफू ब्रह्म भएको ज्ञान र अनुभव प्राप्त गर्नुपर्छ। यो कसीमा जाँच्ने हो भने कतिजना अनुयायीहरू सफल होलान्? तर यसलाई बुझ्न नसक्ने र नबुझेकालाई हिन्दु होइन भनेर कसैले भन्दैनन्। किनभने उनीहरूले हिन्दुधर्मका अरू कर्मकाण्ड गरिरहेकै हुन्छन्।
हिन्दु हुन हिन्दु धर्मको मर्म बुझ्नुपर्छ भन्ने छैन। धेरैजसो धार्मिक अनुयायीहरूले धर्मको मर्म बुझेका हुँदैनन्। तर त्यसका धेरै कर्मकाण्ड परम्परागत शैलीमा मानिरहेका पाइन्छन्। यसबाट हामीले के बुझ्न सकिन्छ भने नेपालको सन्दर्भमा हिन्दुहरूले कति हिन्दु धर्म बुझेका छन् त्यसको लेखाजोखा कसैले गर्न खोजेका छैनन्।
मूल प्रश्न हो के हिन्दुहरूले आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार जीवन व्यतित गर्न पाउँछन्? नेपाल धर्म निरपेक्ष देश भए पनि हिन्दुहरूले आफ्नो धर्म मान्न पाएकै छन् र पाउने पनि छन्। त्यसैगरी अरू धर्मावलम्बीहरूले पनि आआफ्नो धर्म मान्न पाइरहेका छन् र पाउने पनि छन्।
यो तथ्यलाई माने पछि नेपाललाई धर्म निरपेक्ष भन्नु र सापेक्ष भन्नुमा कुनै भिन्नता देखिन्न। त्यो दृष्टिबाट हेर्दा धर्मको सम्बन्धमा हाम्रो संविधानमा सापेक्ष अथवा निरपेक्ष लेख्नु बेमतलबको विवाद देखिन्छ। त्यसकारण यसलाई संविधानमा समावेश गर्नु आवश्यक देखिन्न।
यी सब विवाद निस्केको मुख्य कारण धर्म परिवर्तनको प्रश्न हो। धार्मिक स्वतन्त्रता हुँदाहुँदै पनि नेपालमा धर्म परिवर्तनको छुट दिइएको थिएन। कसैले आफूखुसी धर्म परिवर्तन गर्ने स्वतन्त्रता थियो तर कसैले लोभलालच देखाएर धर्म परिवर्तन गराउन पाउन्नथे। यो प्रश्न धार्मिक पक्षसित जोड्नुभन्दा यसलाई कानुनसित जोड्नु उपयुक्त देखिन्छ। अझ यसलाई शान्तिसुरक्षासित जोड्नुपर्छ। नेपालको कानुनले धार्मिक द्वेष र द्वन्द्व पैदा गर्ने छुट दिएको छैन।
धर्म परिवर्तनको सिलसिलामा समाजमा यसतो द्वेष र द्वन्द्वको अवस्था पैदा हुने गर्छ। धार्मिक सहिष्णुता खल्बलिन जान्छ। यस्तो क्रियाकलापलाई शान्तिसुरक्षाको कानुनी दायराभित्र ल्याउनु उपयुक्त देखिन्छ। धार्मिक परिवर्तनलाई गैरकानुनी पहिले पनि मानिएकै हो र अहिले पनि त्यसलाई मान्नु कठिन छैन। सामाजिक व्यवस्थालाई नै खल्बल्याउने स्वतन्त्रता कतै दिएको देखिन्न।
धर्मनिरपेक्ष र सापेक्षको विवादमा धर्म परिवर्तनको कुरा लुकेको छ। राज्यलाई यस विवादमा तानिएको छ। धर्म निरपेक्ष हुँदा धर्म परिवर्तन गर्न पाउने र सापेक्ष हुँदा अथवा हिन्दु राज्य बनाउँदा सो काम गर्न नपाउने ठानिएको छ। धर्मबारे संविधान मौन बस्नु नै उपयुक्त हुने देखिन्छ। कान सोझै समात्न छोडेर घुमाउरो किसिमले समात्न खोजिएको छ। संविधानमा लेखिनुपर्ने कति मात्र हो भने नेपालमा धार्मिक स्वतन्त्रता छ।
संविधानले दिएका अरू स्वतन्त्रतामाथि जसरी कानुन बनाएर सामाजिक शान्तिसुरक्षा र सहिष्णुता कायम गरिन्छ त्यसरी नै धर्म परिवर्तनको समस्या सुल्झाउन सकिन्छ। आखिर नेपाललाई पुन: हिन्दु राज्य घोषणा गरे पनि सबै धर्मलाई स्वतन्त्रता दिन कर लाग्छ। धर्म परिवर्तनको समस्या सुल्झाउन राज्यलाई तान्नु जरुरी देखिन्न। यसै विवादले गर्दा पनि नेपालको संविधान बन्ने काममा व्यवधान पर्न सक्छ।
सर्वोच्चले भेटेन खिलराजको ठेगाना, 'बेपत्ते' भएर फर्कियो म्याद
[तत्कालीन सरकार प्रमुख एवं त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मी, तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विद्याधर मल्लिक, तत्कालीन गृहमन्त्री माधवप्रसाद घिमिरे र तत्कालीन शिक्षामन्त्री माधव पौडेलको 'वतन' नखुलेको भन्दै तामेलदारले मुद्दा शाखामै म्याद फिर्ता गरेका छन्।]
काठमाडौं : प्रधानन्यायाधीशका हैसियतमा अन्तरिम मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी र सोही मन्त्रिपरिषद्का तीन सदस्यका नाममा सर्वोच्च अदालतले पठाएको म्याद 'बेपत्ते' भएर सर्वोच्चमै फिर्ता आएको छ। ठेगाना फेला नपरेको भन्दै म्याद फिर्ता आएको हो।
सर्वोच्चको आदेश बेवास्ता गर्दै अस्पतालमा बन्दहडताल नरोकिएको आरोपमा दर्ता भएको अवहेलना मुद्दामा अदालतले पठाएको म्याद जस्ताको तस्तै फाँटमा फिर्ता भएको छ। विपक्षीको ठेगाना नखुलेर वा फेला नपरेर अदालती म्याद फिर्ता भएर आउने प्रक्रियालाई कानुनी भाषामा 'बेपत्ते' भनिन्छ।
तत्कालीन सरकार प्रमुख एवं त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मी, तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विद्याधर मल्लिक, तत्कालीन गृहमन्त्री माधवप्रसाद घिमिरे र तत्कालीन शिक्षामन्त्री माधव पौडेलको 'वतन' नखुलेको भन्दै तामेलदारले मुद्दा शाखामै म्याद फिर्ता गरेका छन्।
सर्वोच्चले अत्यावश्यक सेवाअन्तर्गत पर्ने अस्पतालमा जारी बन्दहडताल एक घन्टाभित्र रोक्न अन्तरिम आदेश दिए पनि पालना नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिना र पोषकलाल श्रेष्ठ तथा अधिवक्ता सुनिलरञ्जन सिंहले अवहेलना मुद्दा दायर गरेका थिए। मुद्दामा सरकार प्रमुख र मन्त्रीको वतन सिंहदरबार राखिएको थियो।
सरकारबाट हटेपछि म्याद लिएर सिंहदरबार पुगेका तामेलदारले विपक्षी फेला नपरेको भन्दै सर्वोच्चमा प्रतिवेदन बुझाएका छन्। प्रधानन्यायाधीशको हैसियतमा सरकार प्रमुख बनेका रेग्मीले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए। सर्वोच्चको मुद्दा शाखाका कर्मचारीले वतन नखुलेकाले म्याद 'बेपत्ते' भएर फिर्ता आएको जानकारी दिए।
तत्कालीन सरकार प्रमुख र मन्त्रीविरुद्ध मुद्दा हाल्ने अधिवक्ता सिंहले सरकारबाट हटेपछि म्याद बुझाउन लगेर बेपत्ते बनाइएको हुन सक्ने बताए। उनले भने, 'फाँटले अघिको ठेगानामा म्याद तामेल भएन फेरि वतन खुलाएर निवेदन ल्याउनुस् भनेको छ। हामी अब घरकै ठेगाना खुलाएर दिन्छौं।'
सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकाले त्यतिबेला घरमा लगेर बुझाउन मिल्ने अवस्था नरहेको बताए। 'त्यतिबेलै हेलो सरकारका कर्मचारीलाई फोन गरेर सूचनापाटीमा टाँस्न लगाइएको हो। फिर्ता आएको भए फेरि वतन खुलाउन लगाएर म्याद तामेल गर्नुपर्ने हुन्छ', उनले भने, 'प्रक्रिया नपु:याई यत्तिकै घरमा बुझाउन मिल्दैन।'
@ The Annapurna Post
@ The Annapurna Post