October 30, 2013

'GANDHARVAS', A 'DALIT GROUP' AMONG MANY IN REJECTED GENERATION, SING SOUTH ASIAN GLORY

[Today, we post an article on the Gandharvas, the medieval Nepali minstrels, who are designated also as one of the 'Dalits', meaning - the most 'socio-economially oppressed or suppressed' peoples of Nepal from the 'Rejected Generation’ - a Nepali Literary Movement that began in early 70s. The Dalits today form 22% of nearly 30 million peoples of Nepal. Gandharvas who used to be called 'Gaines'(sic) until last few decades, number only 6,791 according to National Population Census Report of 2011. The author, Kavitaram Shrestha, who is the lead role advocate for 'Rejected Generation' or 'Aswikrit Vichar Sahitya Andolan'  (अस्वीकृत विचार-साहित्य आन्दोलन)  says the Dalits have suffered the most and which must end immediately. The Dalits are one of the most disadvantaged, dehumanized, depressed, oppressed and suppressed groups of people of Nepal. - Editor]


डा.  कविताराम श्रेष्ठ
नेपाली समाजमा गन्धर्व भन्ने जाति गायन पेशासँग सम्बद्ध एउटा जाति हो । उनीहरु युगौँदेखि गाउँगाउँमा सारंगीवादनका साथ सन्देशमूलक गीतहरु गाउँदै सिदा वा बिष्टहरुबाट वार्षिक भाग उठाएर पेट पाल्ने गर्दथे । आज त्यो व्यवस्था विसृंखलित अवस्थामा छ । २०२० सालको मुलुकी ऐन लागु हुनुभन्दा अधि उनीहरु अछूत थिए र लोकले उनीहरुलाई गाइने भन्दथे । अहिले स्थिति केही फरक आएको छ । कानुनी रुपमा उनीहरुको सामाजिक अवस्था उठ्यो र त्यसपछि धेरै परिवर्तनहरु यस जातिका जीवनपद्धतिमा आएका छन् । यस अवस्थामा गन्धर्वहरुका परम्परागत कला र सीप धेरै मानेमा लुप्तहुने स्थितिमा छ । यसैलाई जोगाउन पर्ने आवश्यकतालाई महशुस गरी यो दिवसको आयोजना हुनपुगेको थियो । 


प्रस्तुक कार्यपत्र तथा वक्ताहरुका प्रवचनले गन्धर्वहरुले  पौराणिककालमा राखेका हैसियत हाम्रो समयमा आइपुग्दा कसरी गुमाएर अछूत हुन पुगे त्यो कुरा समेटेको मैले पाइन । यस विषयमा मैले प्रश्न राखेर कोट्याउन खोज्दा उपस्थित गन्धर्वहरुले यस विषयतर्फ निकै चाख राखेका थिए । त्यसैले म आफैले त्यसतर्फ केही लेख्ने धृष्टता लिएको छु । एकैदिनको खाँदिएको कार्यक्रममा सबै पक्ष एकनासले उजागर हुनसक्थ्यो भनेर म भन्दिनँ । एउटा राम्रो शुरुवात भएको थियो त्यस दिवश र अब थपमा अरु विज्ञहरुले पनि योगदान दिदै जानपर्छ भन्ने मान्यताको मान्छे हुँ म । 

मुलुकी ऐनले छुवाछूतलाई मासेपछि गाइनेहरुलाई विस्तारै गन्धर्व निन लाग्यो । यस नामाकरणमा राजा महेंद्र र जनकवि धर्मराज थापाको ठूलो योगदान रहेको कुरो पाका गन्धर्वहरु आज भन्ने गर्दछन् । स्पष्ट छ गन्धर्व भन्ने नाम हिन्दु धर्मशास्त्रहरुबाट लिइयो । धर्मशास्त्रमा गन्धर्वहरु  देवकोटीका गायक वा संगीतका साधकका रुपमा वर्णित पाइन्छन् । त्यही कलाका साधकहरुलाई यस लोकमा गन्धर्व नियो । मनोरन्जन दिनुका साथै इतिहासका गाथा तथा महत्वपूर्ण हालखबरहरु गीतमै बोकेर युगौँदेखि हाम्रा समाजलाई सुसूचित गर्दै आएका यस जातीलाई हामीले हाम्रा लौकिक गन्धर्भ मान्यौँ नै । एउटा दलित अछूत मानिएका जातिलाई देवकोटीको जातीमा तादात्म गर्ने यो प्रयाशको लागि निश्चित रुपमा राजा महेन्द्र र धर्मराज थापा प्रशंसनीय छन् । 

एउटा कुरा निश्चय नै हो कि धर्मशास्त्रका रचयिताहरुले गन्धर्व भन्ने जातिलाई उनीहरुका रचनामा त्यत्तिकै खडा गरेनन् अपितु आफ्ना भूमीका गायन पेशाका साधक जातजाती वा व्यक्तिहरुलाई देखेरै त्यही अनुभव र अनुभूतिबाट देवकोटीका गायकहरुको सृजना गरे । शास्त्रमा वर्णित ६४ वटा महाविद्याहरु जसलाई ६४ कला पनि भनिन्छ त्यसमा गायन वा संगीत पनि पर्दछन् । अझ त्यति मात्र होइन उनै गन्धर्भहरुको अन्तरंगी अन्य ५ साधनासम्मत पेशाहरु वाद्यवादन नृत्य नाट्य उदकवाद्य जलतरंग नाटिकाख्यायिकादर्शन नटक देखाउनु र हेर्नु पनि उनै ६४ महाविद्याहरु अन्तर्गत पर्दछन् । धर्मशास्त्रीहरुमा कला वा तिनका साधकहरुमा त्यत्रो सम्मान नभएका भए उनीहरुले निश्चित रुपमा कलाकर्मीहरुलाई देवकोटीका दर्जा दिने थिएनन् र उनका कलाहरुलाई महाविद्याका रुपमा परिचय गराउने थिएनन् । यो कुरा उल्लेखनीय छ । 

नारदलाई नै हेरौँ एकतारे बाजा बजाउँदै हाम्रा गाइनेजस्तै नै एकठाउँबाट अर्को ठाउँमा गीत गाउँदै संचारको काम गर्ने ती व्यक्ति देवताहरुले पनि ढोग्न पर्ने देवर्षी मानिएका छन् । स्वयं महान् देव मानिएका शंकरलाई संगीत र नृत्यशास्त्रका प्रवर्तक मानिएको छ । त्यस्तै ठूलाठूला ऋषीहरुलाई संगीतशास्त्री भनेरै व्याख्या गरिएका छन् । अझ त्यतिमात्र होइन एउटा सिंगो  उपवेदनै गन्धर्भहरुको विद्या गन्धर्ववेदको रुपमा रचित छ । जसरी ऋगवेदको उपवेद आयुर्वेद भए यजुर्वेदको उपवेद धनुर्वेद भए अथर्ववेदको उपवेद अर्थशास्त्र भए त्यसरी नै सामवेदको उपवेद गान्धर्भवेद भए । गान्धर्भवेद पूर्णतः संगितशास्त्रको रुपमा रचित छ । गन्धर्भहरुले साधना गरिने विद्या भएकै कारणले संगीतविद्यालाई गान्धर्भवेद अन्तर्गत राखिएको स्पष्ट छ । यस उपवेदमा जम्मा १००० शाखा थिए भनिएको छ । तर हाल १३ शाखा मात्र उपलव्ध भएको किटान छ रामदास गौड हिन्दुत्व पृ.८८ । यी उपलव्ध शाखामा वाष्र्णेय शाखाका उपवेद नै गान्धर्भवेद हो । यसमा १४ प्रकरणहरु छन् । सामवेदका विधिपूर्वक अध्ययन गर्नपर्ने छवटै अङ्गका साथसाथ लौकिक र वैदिक दुवै किसिमका संगीतशास्त्रका जवसम्म पूर्ण अध्ययन र अभ्यास हुन्न तवसम्म सामवेदका पूर्ण पण्डित शास्त्रले मान्दैन । चारैवेदका ऋषीहरुले अनिवार्यतः यो गन्धर्वविद्याको अध्ययन र अभ्यास गर्नैपथ्र्यो । तब मात्र उनीहरु आचार्य मानिन्थे । लौकिक संसारकै कुरा गरौँ- युगौँदेखि सुसंस्कृत राजा महाराजाहरुले आफ्ना दरवारलाई शोभायमान गराउन नवरत्न राख्दा संगीतशास्त्रीलाई अनिवार्यतः राख्दथे । संगीत तथा कला नभएका मान्छेलाई सिङ्ग र पुच्छर नभएको पशुको संज्ञा दिइन्थ्यो । अलौकिक संसारमा होस् वा लौकिक संसारमा विगतमा यस्ता कलाका साधकहरुले ठूलै सम्मान पाउथे नै । तर विचारणीय यही छ कि आज आएर उनै साधकहरु हाम्रै समाजमा यस्ता दलित अवस्थामा पुगे यस्तो कसरी भयो होला 

यही हाल भारतमा पनि भएका उदाहरण हाम्रा सामू आज छन् । भारतमा गायन बन्दी, सौख्य, शायिक, वैतालिक, कथक, ग्रन्थिक, गाथी, कुशीलव, नट, सूत आदि जातजातिहरु  गीतसंगीत र नृत्य पेशामा संलग्न देखिन्छन् । उनीहरुका अवस्था पनि यस्तै दलित भएकाले भारतीय सरकारले अरक्षणको लागि अनुसूचित जातिमा दर्ज गरॆका छन् । भारतमा पाइने गायन र बन्दी शायद नेपालमा पाइने गाइने र बादीहरु हुन् । स्थानान्तरको कारणले मात्र नाममा फरक आएको हो कि भन्ने मलाई लागेको छ । जे होस् नेपाल वा भारत दुवै देशमा कलाका साधकहरु एकै रुपले कसरी दलित हुनपुगे यो कुरा यहाँ उल्लेखनीय छ र यस कुरालाई संयोग मात्र मान्न सकिन्न । 

दुवै समाज युगौँदेखि सामन्तवादी संस्कारमा हुर्किए । कालान्तरमा गीतसंगीत आदि कलाहरु प्रायः राजा रजौटा र सामन्तहरुको मनोरन्जनको साधनमात्र हुन पुगे । अभिजात वर्गको त्यो व्यवहार निम्नस्तरका ऐयासीहरुको लागि अनुकरणीय मूल्य बन्न पुग्यो र अन्ततः कलालाई प्रायः मनोरन्जनको साधनको रुपमा मात्र लिइने अपमूल्यको विकास भयो । वासनामा निर्लिप्त शासकहरुलाई यसको संरक्षण र सम्बद्र्धनको लागि चासो रहेन । गन्धर्ववेदजस्ता रचना गर्ने ऋषीमुनीका परम्परा क्रमशः यिनै कारणले तोडिदै गए । यसरी साधकहरुको सृजनाको लागि कुनै प्रोत्साहन भएन । कला सम्बद्र्धनको लागिभन्दा सामान्यरुपमा गीत गाउँदै मनोरन्जन दिएर जीविकोपार्जन गर्नपर्ने बाटो मात्र सर्जकहरुको लागि रहन गयो । जीविकोपार्जनको लागि उनीहरुसँग अरु उपाय थिएनन् । त्यसैबाट संझौता गर्दै पेट पाल्न पर्दा अर्कालाई खुशी पार्नै पर्ने विवशता कला साधकहरुमा भयो । उनीहरुका पूर्ववत सम्मान घट्दै गए । आर्थिक रुपमा पेलिँदै गए । शीर ढल्दै गयो । आफूमा पनि दलित भावको विकास हुन लाग्यो । लुरुलुरु घरघर धुम्दै अवान्छित स्थितिमासमेत गाउँनै पर्ने विशताका यी गायकहरुलाई घरभीत्र पस्ने अनुमति थिएन नै । बाहिरै बीष्टहरुका दयाको आशमा पर्खनपथ्र्यो र हेलामाथि हेला हुँदै जाँदा कालान्तरमा भित्र पस्नै नहुनेमात्र उनीहरु भएनन् छुनै नहुने स्थितिसम्ममा पुगे । मलाई यस्तै लाग्छ ।

गायन पेशाका यी पूर्वसाधकहरु यसरी दलित अवस्थामा पुग्नुमा धर्मशास्त्रकै निषेधको पनि ठूलै हात रहेको बुझिन्छ । ब्रह्म्शूत्रको शांकर भाष्य अ. १.३.३८. ले वेदमा रचित ज्ञानको अध्ययन वा अनुष्ठान गरेमा यस्तो कठोर दण्डव्यवस्था गरेको छ ।

यदस्य स्मृते श्रवण प्रतिषेधो वेदाध्ययन प्रतिषेधस्तदर्थज्ञानानुष्ठानयोश्च प्रतिषेधः शूद्रस्य स्मर्यते ।
श्रवण प्रतिषेधास्तावत् अथास्य वेदमुपठद्दडसण्वतस्त्रपुजतुम्यां श्रोत्रप्रपूरणम् इतिः ।
पद्युह वा एतत् श्मशानं यच्छूद्रस्तस्माच्छूद्र समीपे नाध्येतव्यम् इति च अतएवाध्ययन प्रतिषेधः । 
भवति च वेदोच्चारणे जिह्वाच्छेदो धारणे शरीरभेद इति । 

अर्थ: शूद्रलाई स्मृतिहरुले वेद सुन्ने वा अध्ययन गर्ने अधिकार दिएको छैन । शूद्र भनेको खुट्टा भएको श्माशान हो यीनीहरुको सामू वेदको अध्ययन गर्न हुन्न । शूद्रहरुको लागि श्रवण निषेध यस प्रकार छ कि उसले वेदवाक्य सुनेमा दुवैकानमा लाख वा सीसा भरिदिनुपर्छ । वेद उच्चारण गरेभने जीव्रो छेडिदिनुपर्छ अनि धारण नै गरे भने शरीरै अलग्याइदिनुपर्छ ।

यसरी वेदैमा रक्षित ती संगीतशास्त्र जो राजाका दरवारसम्म पुगेर ठूला पारितोषक पाउने वा सामाजिक प्रतिष्ठा वा राजकीय सम्मान पाउने एउटा माध्यम थिए सामान्य साधकहरुको लागि उपलव्ध भएन । निश्चित वर्गहरुको लागि मात्र उपलव्ध भए । उनै उपेक्षित साधकहरु कालान्तरमासामाजिक र आर्थिक रुपमा पूर्णतः दलितमा परिणत हुँदै गए कोही भारतका गायन कोही नेपालका गाइने केही भारतका बन्दी त कोही नेपालका वादी अनि त्यस्तै त्यस्तै धेरै अरु । 

अर्को विडम्बना यो पनि भयो कि सर्वसाधरणले पढ्ने वा सुन्नै नपाएपछि त्यो शास्त्रले निर्वाध निरन्तरता पाएन । त्यसैले ऋषीहरुको यो मर्यादित विद्या कत्ति त त्यत्तिकै विलय भएर गए । कत्तिले संकलनको सुविधा पाएका थिए तर ती अंश पनि उनै मर्यादाको कारणले सीमित वर्गको लागि पुस्तकमै सिमित भएर रहे । जोजो छचल्किएर बाहिर रहे तिनले व्यवहारिक रुपमा निरन्तरित हुन पाए । उनै अंशमात्र आज सर्वसाधरणको हातमा उपलव्ध भएको हुनुपर्छ । माथि भनिएको गन्धर्ववेदको १००० शाखामा १३ शाखा मात्र उपलव्ध हुनु यही कारण हो भन्ने मलाई लाग्छ । 

आज जनसाधरणको लागि उपलव्ध संगीतशास्त्रका लागि भरत सोमेश्वर हनूमत् र कल्लिनाथलाई प्रमुख आचार्य भनेर मानिन्छ । यीनमा भरतलाई चाहिँ संगीतशास्त्रको प्रवर्तकनै मानिन्छ भने आज प्रचलित संगीतशास्त्रका मूलगुरु चाहिँ हनूमतलाई मानिन्छ । हनूमतशास्त्रमा ७ अध्याय छन् जसलाई स्वराध्याय रागाध्याय तालाध्याय नृत्याध्याय भवाध्याय कोकाध्याय र हस्ताध्याय भनिन्छ । यसमा संगीतको स्वरलाई त्री-साम भनिएको छ- मन्द्र, मध्य र तार । संगीतका उतारलाई सप्तस्वरमा विभाजित गरिएको छ जसलाई षड्ज,ऋशव, गान्धार, मध्यम, पन्चम, धैवत र निषाद भनिएको छ । आज यीनैलाई सा रे ग म प ध नि सा को सरगम मानिन्छ । यीनै सप्तस्वरका कोमल र तीव्र द्रुत अनुद्रुत र ग्रामादि भेदबाट रागिनीहरुको कल्पना गरिन्छ । हाम्रा गन्धर्भहरुको संगीतविद्या पनि यीनै हनुमतशास्त्रको निरन्तरता हो भन्ने मलाई लाग्छ । 

उपलव्ध गन्धर्व विद्याका सम्बन्धमा यही भन्न सकिन्छ कि लौकिक मूल्यहरुसँग सम्बद्ध भएकैले धार्मिक शास्त्रहरुमा यो विलय भएर गए पनि यसका अनुशीलन र व्यवहार कहिल्यै नष्ट भएन । यसको व्यवहारिक रुप कला र सीपको रुपमा अद्यापि प्रचलनमा छ । गुणात्मता गाम्भिर्यता आदिको कुरा अलग हुनसक्छ तर यसले समयसमयमा तत्कालीन मूल्यहरुसँगै परिवर्तन पाउँदै आएपनि यो अझै जीवितै छ । यसले मूल्य पाइरहेको छ । जानी नजानी होला वा संस्थागत वा श्राद्धमा विरालु बाँध्ने परम्पराकै रुपमा पनि हुन सक्ला वा दलित जातीहरुकै हातमा पनि होला वा नयाँ पुस्ताका अरु जातिको बीचमा पनि होला यसले कुनै रुपमा निरन्तरता पाइरहेकै छ विकास पाइरहेकै छ । कला हो र कला यसै मर्दैन । जसरी होस् मेरो भनाइ छ यसको सार कुनैनकुनै रुपमा आजसम्म जीवित छ । 

बिक्रम सम्बत् २०५९ माघ २३ गते गन्धर्वहरुले सारंगी दिवश मनाए । धेरै ठाउँका धेरै युवा र पाका गन्धर्वहरुले आफ्ना विद्या त्यहाँ अजमाए । त्यो पूर्वविद्याको रसस्वाद त हामीले लियौ नै साथै त्यसैमा कलात्मक ढङ्गले रंगिएका आधुनिकताको रसस्वाद पनि लिन पायौँ । त्यस दिन दलितहरुका एकमात्र पुख्र्यौली बाजा सारंगीले दलित भनिने अमानवीय पर्खाल फोरेको थियो । सबै जातिका सभासदलाई समानरुपले छोएको थियो । त्यसदिन कोही दलित थिएनन् कोही अभिजात थिएनन् । बढी भनेको मान्नुहुन्न भने मलाई त्यसदिन लागेको थियो- यसै धरतीमा इन्द्रसभा सजिएको थियो जहाँ यसै भूमिका देवस्वरुप दिग्गज कलासाधक गन्धर्वहरुको प्रस्तुति भएको थियो । 

संगीतको साधना हामी जो गर्छौ बाथरुममै भएपनि जो गाउने प्रयत्न गर्छौ वा नगाउँदा नगाउँदै पनि जो गीत सुन्नमा हराउँछौँ मेरो भनाइ छ-गन्धर्वका आदर्शमा निर्लिप्त छौँ ।गन्धर्व विद्यामा पारंगत हुन सक्ने हामी नहुन सक्छौँ । तर पूर्खाहरुले जहाँदेखि गल्ति गरेर यो अपार विद्याका साधकहरुलाई दलित अवस्थामा पुर्याए त्यहाँदेखि फेरि हामीले इतिहास दोहोर्याउन सक्छौँ । अवस्था आइसकको छ गन्धर्वहरुका देवत्वलाई फेरि स्थापना  गर्नसक्ने छौं अस्तु !


*
[यस पटकको बजेटले पनि त्यही पुष्टि गर्‍यो। यत्रा समस्या सम्बोधन गर्न छाडेर उसले दलितलाई सगरमाथा चढाउन २ करोड रुपियाँ छुट्ट्यायो। मानौँ, अहिलेसम्म दलितको उत्थान नभएको सगरमाथा नचढेरै हो। पुर्ख्यौली पेसा उदार बजार व्यवस्थाले खाइदिएको, भूमिहीनताका कारण गरिखाने बाटो टुंगिएको र राज्यले अपहेलित गरेका कारण दुनियाँमा भएका सबै समस्या सामना गर्न बाध्य दलितका क्रन्दन सरकारको प्राथमिकतामा परेन। अनि सगरमाथारूपी ललिपप देखाएर उनीहरुप्रति सहानुभूति देखाउने दुःसाहस गर्‍यो।]

- रघुनाथ लामिछाने

लहान नगरपालिकासँगैको गुदी गाउँमा मुसहर बस्ती छ। त्यहाँ विद्यालय जाने उमेरका बालबालिका करिब दुई सय छन्। नजिकै जनता नाम गरेको माध्यमिक विद्यालय पनि छ। तर, उक्त विद्यालयमा जाने यस बस्तीका बालबालिका भने दुई जनामात्र छन्। उच्च शिक्षामा दुई प्रतिशतमात्र सहभागी हुन सकेका दलितको निजामती सेवामा ०.७ प्रतिशतमात्र सहभागिता छ। यसैगरी दलितको शैक्षिक उपलब्धि सूचक ०.१८६ छ भने राष्ट्रिय औसत सूचक ०.२९५ छ। 

नेपालका दलितको स्थिति थाहा पाउन यतिमात्र जानकारी पर्याप्त छैन। मधेसी दलितको साक्षरता प्रतिशत ४.५ मात्र छ भने दलित आयोगका अनुसार २३ प्रतिशत दलित पूरै भूमिहीन छन्। यसैगरी नोकरको जीवन व्यतीत गरिरहेका हलियामध्ये ९८ प्रतिशत दलित छन्। यी यस्ता कारण हुन्, जसले दलितलाई दोस्रो दर्जाको नागरिकमा झारेको छ। अभाव र विभेदको मुख्य जड ठानिएका कारण सम्बोधन हुन नसक्नुले तिनको जीवनचर्या झन् कठिन हुँदै गएको छ। दुर्गम, गरिब तथा अपहेलितका सबाललाई कहिल्यै प्राथमिकतामा नराख्ने र हल्काफुल्का ललिपपले एक छिन मुख गुलियो गराउन खोज्ने मनोरोगले राज्य ग्रस्त छ। यही कारण दलितलाई हेर्ने दृष्टिकोण नै गलत छ।

यस पटकको बजेटले पनि त्यही पुष्टि गर्‍यो। यत्रा समस्या सम्बोधन गर्न छाडेर उसले दलितलाई सगरमाथा चढाउन २ करोड रुपियाँ छुट्ट्यायो। मानौँ, अहिलेसम्म दलितको उत्थान नभएको सगरमाथा नचढेरै हो। पुर्ख्यौली पेसा उदार बजार व्यवस्थाले खाइदिएको, भूमिहीनताका कारण गरिखाने बाटो टुंगिएको र राज्यले अपहेलित गरेका कारण दुनियाँमा भएका सबै समस्या सामना गर्न बाध्य दलितका क्रन्दन सरकारको प्राथमिकतामा परेन। अनि सगरमाथारूपी ललिपप देखाएर उनीहरुप्रति सहानुभूति देखाउने दुःसाहस गर्‍यो।

हुन त सरकारले यसरी बजेट छुट्ट्याउनुमा 'पर्यटन प्रवर्द्धन' कारण उल्लेख गरेको छ। एकातर्फ यो दुनियाँमै नभएको नियम 'पर्यटन प्रवर्द्धन गर्न सगरमाथा चढाउने' नीति अँगालेर विश्व हँसाएको छ भने सगरमाथा चढेर तथा मण्डलामा मैनबत्ती बालेर विकास हुने, आय आर्जन हुने र शान्ति कायम हुने केही समूहका भ्रमलाई मान्यता दिएको छ। मञ्च नै भत्कनेगरी उफ्रँदैमा गीत गाएर वा केही मान्छे साँझमा जम्मा भएर मण्डलामा केही सयको मैनबत्ती बाल्दैमा अनि सगरमाथाको टुप्पोमा झन्डा गाडेकै भरमा शान्ति कायम हुने भए अमेरिकाले विन लादेनलाई मार्न ३० खर्ब डलर खर्चै गर्नु पर्दैनथ्यो भन्ने चेतना सरकारलाई किन नभएको?

अर्कोतर्फ सरकारले अघिल्लो वर्ष १५ जना निजामती कर्मचारीलाई सगरमाथा चढाउने कार्यक्रम राखेको थियो। यसका लागि खर्चिएको ३ करोड र त्यसबाट सगरमाथा चढे भनिएका ९ जनाले कति पर्यटन प्रवर्द्धन गरे भन्ने हिसाबकिताब जरुरी छ। त्यस पैसाले कति मानिसलाई तुइन चुँडिएर त्रिशूलीमा खस्नबाट बचाउन सकिन्थ्यो भन्ने लेखाजोखा पनि उत्तिकै महत्वपूर्ण छ।

जनताका समस्या बढिरहेका छन्। गरिब र धनीबीच बढ्दो खाडलले नेपाली-नेपालीबीच तीव्र दूरी खडा गरिरहेको छ। यस्तो अवस्थामा शिक्षा, स्वास्थ्य, आवासजस्ता आधारभूत अधिकारबाट उनीहरु वञ्चित छन्। एउटै कोठामा पाँच वटासम्म कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता अहिले पनि छ। विद्यालय नाम गरेको छाप्रोमा बस्न घरैबाट बोरा बोकेर लानुपर्ने बाध्यताबाट मुक्ति पाउने अवस्था छैन।

यस्तो अवस्थामा कुनै सन्काहाको सोख पूरा गर्ने काम सरकारको प्राथमिकतामा पर्नु लाजको विषय हो। व्यक्तिगतरूपमा पूरा गर्न गरिने प्रयासप्रति आपत्ति छैन। तर, जब उनीहरुको लहैलहैमा लागेर राज्य यस्ता कामको नेतृत्व गर्छ, सहयोग गर्छ र पहल गर्छ, त्यतिखेर भने उसलाई उपचारको खाँचो महसुस हुन एमबीबीएस गरिरहनु पर्दैन।

हुनत, पुरुषको आक्रमणबाट जोगिन खुर्सानी साथमै लिएर हिँड्ने सल्लाह दिने र भ्रष्टाचार निर्मूल पार्न विमानस्थलका कर्मचारीलाई खल्ती भएको लुगा लगाउन नपाउने व्यवस्था गर्ने नेता/प्रशासक भएको मुलुकमा पर्यटन प्रवर्द्धनका लागि सगरमाथा चढाउने नीति ल्याउनु अनौठो विषय होइन। अनि शिक्षकलाई 'ड्रेस' व्यवस्था गरेपछि एसएलसी नतिजामा खस्केको गुणस्तर वृद्धि हुने सोच राख्नेहरूबाट पनि सगरमाथा ललिपप रुचाउनेहरू प्रभावित भएको हुनुपर्छ।


सरकारले अन्तर्राष्ट्रियरूपमा मात्र चर्चा पाएको भनेर होला, अघिल्लो पटकदेखि नेपालमै पनि सगरमाथाको चर्चा चलाउन यस्ता कार्यक्रम बजेटमार्फत् ल्याउनु सकारात्मक मान्न सकिएला। तर, केही लाखमै निर्माण हुनसक्ने झोलुंगे पुल नबनाइदिएर मान्छे मार्ने तथा केही सुकामै पाइने सिटामोलसमेत नपाएर मृत्युसँग संघर्ष गर्नुपर्ने अवस्थाबीच ल्याइने यस्ता कार्यक्रमको साँच्चै प्रस्टीकरण दिनुपरेका दिनमात्र उच्च कर्मचारी र नेता चेत्लान्।