September 5, 2013

भडकिलो तीजको प्रसँग

[तीज आयो भन्दैमा तँ भन्दा म के कम झैँ गरेर "ह्वाई भन्दा ख्वाई धेरै, ज्वाई भन्दा लवाइ ठूलो" किन गर्नु परेको छ र  तीज पर्वलाई सभ्य र जीवन्त राख्ने हो भने र यसलाई श्रद्धापूर्वक र भावपूर्ण तरिकाले मनाउनु राम्रो हुन्छ । यो कुरा आम नेपाली नारीहरुले बुझ्नु जरुरी छ । त्यहा अझै चेतनाको अभाब खड्केको छ | तीज पर्वलाई अहिले चलेको 'डिजिटल तीज ' अर्थात् 'अत्याधुनिक तीज' भन्दा नितान्त फरक र पवित्र तरिकाले मनाउन पनि सकिन्छ | नारी उत्थान वा विकासका विभिन्न किसिमका सृजनात्मक, चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेर पनि तीज मनाउन सकिन्छ | धार्मिक हिसाबले तीजलाई जसरी परिभाषित गरिएको छ त्यो अनुरुप फिटिक्कै हुन सकेको छैन | त्यो पुरानो रितिरिवाज, धर्म संस्कार,विश्वास र आस्था भन्दा पनि अहिलेको नयाँ पुस्ताको इच्छा, चाहाना र महत्वकांक्षाले तीजलाई नराम्रोसँग भाँडेको र दशतिर घुमाएको वा मोडेको पाइन्छ |]


लेखक छक्कु उदासी  
तीजलाई बुझ्ने वा परिभाषित गर्ने तरिका थरी थरीका छन | कसैले नारीहरुले बर्षभरि भोगेका दु:ख, कष्ट, पीर व्यथा धोइपखाली गर्ने पर्व हो पनि भनेका छन, कसैले फेरी पतिब्रता रहेको वा भएको देखाउने पर्व हो पनि भनेका छन भने कसैले प्रेम दिवसको रुपमा पनि  लिने गरेका छन | प्रेम दिवसको रुपमा लिदा चाही बर्षमा कतिवटा 'प्रेम दिवस' मनाउने भन्ने कुरो पनि स्वभावैले उठ्छ ? अनि त्यही नेपालका नारीहरु दिनप्रति दिन हत्या र हिंशाको शिकार बन्दैछन ? त्यस्तै गरि पतिब्रताको कुरा मात्रै किन ? पत्निब्रत पनि बन्नु पर्यो पतिदेवहरु, परेन र ? तर, तीजलाई जसले जसरी परिभाषित गरे पनि त्यो परिभाषा कुनै एकादेशको कथा जस्तै बन्दै छ | यसको मतलब कुनै पर्वको नाममा देखासिकी र अस्वाभाविक भड्किलो पहिरन र गरगहनाको प्रदर्शनको कारण अब त तीज हैन त्यसबाट उब्जेको बिकृति मनाइरहेका छौं जस्तो लाग्न थालेको छ | तीजलाई किन र कसरी मनाउने ? भन्ने बारे गम्भिर हुने फुर्सद कसैको पनि छैन जस्तो लाग्छ | यतिखेर हाम्रो मुलक, नेपालमा जता हेर्यो त्यतै तीजको रौनक छाएको देखिन्छ | सानो हिमाली राष्ट्र नेपालमा हिन्दु धर्मावलम्वी महिलाहरुले मात्रै मनाउने तीज पर्वले सिंगो देश नै रातो साडीले राताम्यै र हरियो साडीले हरियै बनेको आभाष मिलेको छ | महिला होउन या पुरुष सबैको आँखा रातो र हरियो रंगमा ठोक्किएको छ ड्याम्मै | त्यस्तै टलक्कै टल्केका पहेला गहनाहरुले पनि सबैको मन लोभ्याएकै छ | यहि मौका छोपी सुनको भाउले पनि नेटो काटेको छ अर्थात सुनको मूल्य अचाक्ली आकाशिएको छ | यो तीजको तडकभडकले ब्यापार व्यवसाय फष्टाउने एउटा गतिलो माध्यम बनेको भने प्रष्ट देखिन्छ |

संधै बजार भाउ बढ्यो, बढ्यो भनेर जिब्रो काट्ने सर्वसाधारणहरु गरगहना र साडी त जति महँगो भए पनि किन्न नछोड्ने रहेछन | त्यही नेपालीको एउटा नराम्रो रोग र अचम्मैको बानीले नै बजार भाउ नै बिग्रेको हो की ? दिनप्रति दिन यस्तै चालले बजार भाउ आकाशिने हो भने भोलिका दिनहरुमा तीज पर्वको मनाउनै नसकिने भएर कतै यो पर्व खतम भएर त जाने होइन ? पहिचान नछुट्टिने हो की ? महत्व पनि घट्दै जाने हो की ? भन्ने सबैको चिन्ताको बिषय बन्दै आएको छ | यति नै बेला संबन्धित सरोकारवाला जति सबैबाट यसबारेमा चिन्तन गरिनु पर्ने होइन र ? तर यस्ता संबेदनशील बिषयप्रति कसैको ध्यान जान सकेको छैन । यही नै त दु:खको कुरा छ |

"जसो पर्छ त्यसै टर्छ, जे छ त्यसैले जिबिका चल्छ" भन्ने कुरोलाई अनुसरण गर्दा कसो होला ? कतिपय हाम्रा यी पर्वहरुकै कारणले समाजमा धेरै किसिमका बिकृति र विसंगति फैलिदै आएको छ | यो तीतो सत्यप्रति किन सबै मौन छन ? केही खास चाडपर्वहरु कसरी सरल र सुलभ तरिकाले मनाउने भन्नेबारे हामी सबैले समयमै सचेत र गम्भिर हुनै पर्छ जस्तो लागेको छ | कसैको घरमा नुन पनि पाउन नसकिने अवस्थामा, अरुका घरमा भने सुनै सुनको गहनाको थुप्रो , यो मिल्ने कुरो भएन | धनी र गरिब छर्लङ्ग छुट्टिने, देखिने वा जानिने यो तीज पर्वलाई कसरी सुधार वा व्यवस्थित गर्ने होला ? सबैको घरदैलोमा तीज नजिकिए पनि मानसिक र भौतिक रुपमा तीजले सम्बन्धित सबैलाई मानसिक पीडा थपिदिएको छ | यो पबित्र पर्वलाई आज नयाँ भनिने तडक भडक र उत्ताउला हाउ भाउ वा कटाक्ष, गीत र नृत्यले सामाजिक मान्यता र संस्कारको परिधिलाई नाघेको छ र अपवित्र तुल्याएको महसुस भएको छ |

तीज आयो भन्दैमा तँ भन्दा म के कम झैँ गरेर "ह्वाई भन्दा ख्वाई धेरै, ज्वाई भन्दा लवाइ ठूलो" किन गर्नु परेको छ र ? तीज पर्वलाई सभ्य र जीवन्त राख्ने हो भने र यसलाई श्रद्धापूर्वक र भावपूर्ण तरिकाले मनाउनु राम्रो हुन्छ । यो कुरा आम नेपाली नारीहरुले बुझ्नु जरुरी छ । त्यहा अझै चेतनाको अभाब खड्केको छ | तीज पर्वलाई अहिले चलेको 'डिजिटल तीज ' अर्थात् 'अत्याधुनिक तीज' भन्दा नितान्त फरक र पवित्र तरिकाले मनाउन पनि सकिन्छ | नारी उत्थान वा विकासका विभिन्न किसिमका सृजनात्मक, चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेर पनि तीज मनाउन सकिन्छ | धार्मिक हिसाबले तीजलाई जसरी परिभाषित गरिएको छ त्यो अनुरुप फिटिक्कै हुन सकेको छैन | त्यो पुरानो रितिरिवाज, धर्म संस्कार,विश्वास र आस्था भन्दा पनि अहिलेको नयाँ पुस्ताको इच्छा, चाहाना र महत्वकांक्षाले तीजलाई नराम्रोसँग भाँडेको र दशतिर घुमाएको वा मोडेको पाइन्छ |

हरे … शिव ! गर्दागर्दै तीजकै नाममा हाम्रो समाजले नै पचाउन नसक्ने खाले कस्ता-कस्ता उत्ताउला गीतहरु निस्कन थालेका छन ! साच्चिकै ! यो तीजकै निहुँ पारेर गीत संगित क्षेत्रको ब्यबसाय फष्टाउने र चम्काउने घच्चीको धरिया पो हो की जस्तो लाग्दै छ | आजभोलिका तीजे भाकालाई तीजको गीत भन्ने की रत्यौली गीत ? छुट्याउनै गाह्रो हुन थालेको छ | कमसेकम रत्यौलीको मझेरीमा त पुरुषकोलाई निषेध गरिएको हुन्छ | तर केहि समय यता 'तीजे' खाल र भाकाहरुमा खुलमखुल्ला छाडापन आउन थालेको छ | तीजका गीत गाउनेहरु र नाँच्नेहरु उत्ताउलो हो की तीज पर्व नै उताउलिएको हो ? सोच्नैपर्ने भएको छ |

समस्त नारीहरुले के बुझ्नु जरुरी छ भने - यो महंगा साडी र गरगहना लगाएर सुशील, सभ्य र भलादमी कहिलै भईदैन | अनि क्षणिक खुसी र सुखमा मैमत्ते हुने वा भुइमा न भाडोमा हुने र मीठै खाने र राम्रै लाउने मात्रै पनि जीवन हैन | आबस्यक भन्दा धेरै लाउने र खानेको प्रतिस्पर्धा गर्नाले समाज नसोचेको घट्नाहरु घट्दै आएका छन् | यो संधै खाने, लाउने र रमाइलो भन्दा अर्को दुनियाँ नै छैन की झैँ गरेर सिंगो जीवन गुनाममा काटेर कहिले सम्म बस्ने ? अझै पनि यो २१औं शताब्दिका हौ भनि टोपलिने नेपाली नारीहरुको सोचमा परिवर्तनको आवस्यकता खड्किएको छ र चेतनाको अभाव टड्कारै देखिन्छ | जाबो एक दिन मनाइने पर्वकै नाममा धुनधानै गरगहना र चमक झमक गर्नु पर्ने आबस्यकता नै छैन नी ! "न आत्माले शान्ति पायो न नाकमा बोसो आयो" फक्कैमा ! परिवारमा नभएको रंडाको निम्त्याउने काम मात्रै हो | यति भनेर हाम्रो तीज पर्वलाई उपहास गर्न खोजेको भनेपक्कै पनि हैन र बिरोध गरेको पनि हैन | हाम्रा समाजका विकृतिलाई कोट्याउने काम मात्रै गरेको हो ।

"जहाँ जहाँ यो नेपाली तन, त्यहाँ अबस्य नेपाली पन, चाहे किन नहोस पराइको बन, त्यहाँ जसरी पनि नेपाली मन"- भने झैं त्यो नेपालमा हुनेले के तीज माने होलान र ? त्यो भन्दा धेरै त विदेशतिर पनि मनाइन थालेको छ त ! यहाँ यो जापानमा पनि तीज अत्यन्त धुमधामै गरेर मनाउने गरिएको छ आजभोलि | जापानमा पनि` तीज आउनु भन्दा एक महिना पहिलै देखि नेपाली दिदीबहिनीहरु आपसमा निम्ता गर्ने ३०,३५ जना जम्मा हुने घरदेश र माइतिको सम्झना गर्दै मीठो चोखो खाएर नाच्ने र गाउने गर्दै आएका छन | त्यति मात्रै हैन जापानका पार्क, चोक र सडकमा पनि आजभोलि तीजे भाका घन्किएका छन, राता-राता र हरिया साडी फन्किएका छन |

एक दशक पहिलेको जापानबासी नेपालीहरुले तीजलाई हेर्ने हेराइ र तिनै नेपालीको यतिखेर तीज प्रतिको धारणा आकाश जमिनको फरक रहेको छ | तत्कालीन समयमा एक्लो पहलले पराइ भूमीमा पहिलोचोटि तीज मनाउने चलन बसाल्न निकै गाह्रो भएको थियो | र, त्यो परप्परा पूर्ण रुपले हुर्किन झन्नै एक दशक नै लाग्यो | कुनै राम्रो कामको थालानी मात्रै गर्नु पर्छ, सबैको साथ र सहयोग पाइन्छ र आपसेआप आफै हुर्किन्छ भन्ने कुरा बल्ल आज प्रमाणित भएको छ | जग मात्रै बसाल्नु गाह्रो रहेछ | त्यो जमानाका एकाध व्यक्तिहरुले भन्ने गर्थे- तँलाई थाहा छ यो त जापान हो जापान ! यो नेपाल हैन ! यो जापानमा पनि के को तीज ? के को रातो साडी ? के के नै खूब तीज मान्ने भएकी ! भनेर आँखा नतरेका पनि हैनन् | तर जसले जे भने पनि हतोत्शाहित भने भइएको थिएन |

संस्थागत र व्यक्तिगत रुपमा नारी र पुरुषहरुको अदभुत सहयोग र प्रेरणाले आजको यो घडीसम्म आइयो | अझ यात्रा धेरै नै छ र बर्षेनी झन भन्दा झन जिम्मेवारी थपिदै छन | अर्कोतिर एकाएक जापानमा तीज पर्व मनाउने क्रम फस्टाउदै आएको छ । नेपाली दिदीबहिनीहरुलाई के तीज आउथ्यो ? नेपाली दाजुभाईहरुलाई पो तीज झ्याप्पै लागेको छ | तीज कार्यक्रमको आयोजना गर्न नेपाली दिदीबहिनीहरु हैन लाजै नमानी नेपाली दाजुभाइहरु विच पो मारामार वा हानाथाप नै हुन थालेको छ | नेपाली दाजुभाइहरुको यस्तै चाला हो भने कुन दिन नेपाली नारीको पर्व नारीहरुले नै मान्न नपाइने हो की भन्ने पीर हुन थालेको छ | एक हिसाबले त यसरी प्रतिस्पर्धा हुनु भनेको आफैमा नराम्रो हैन र पुरुषहरुले तीज मनाउन पाइदैन भन्ने पनि हैन | तर नेपाली- नेपाली बिच आपसी भाइचारा र सामाजिक सम्बन्धमा खलल नहोस भन्ने मेरो अभिप्राय हो ।र यो तीज कसैका निम्ति आर्थिक लाभ लिने भाँडो नहोस, कुनै संस्था खोलेर माथि चड्ने बाँदरको लिस्नो नहोस भन्ने हो । अनि समाजमा विकृति न फैलियोस भन्ने सबैको चिन्ताको कुरो पनि हो |


***