[Below we post today a travelogue by Chhakku
Udasi, a Nepal born writer and women’s rights activist in Tokyo, Japan.
Recently, along with her friends she climbed Japan's tallest mountain ‘Fujisan’
known to the outer world also as Mt.
Fuji 3,776.24 M (12,389 ft). She has beautifully described why she
longed for going into the
adventure and also the safety measures in the mountain adopted by
the Japanese government. – The Blogger]
सगरमाथाको सन्तान, फुजीसानलाई दर्शन
लेखक छक्कु
उदासी
जापानको फुजीसान चढ्ने धोको बल्लतल्ल पुरा त गरियो तर अधुरै रह्यो । साँच्चिकै, मनमा धोको पालेर राख्न त धेरै गाह्रो हुँदो रहेछ । धोकोलाई पालेर राख्नु जति गाह्रो थियो त्यो भन्दा पनि अझ त्यही मार्न नसकेको धोकोलाई पुरा गर्न झन् गाह्रो हुँदो रहेछ । आखिर आफ्नै निजी धोको न हो ! आफैले सजिलैसँग 'मार्न पनि कुनै बात' लाग्दैन थियो । तर त्यो जाबो एक मनको धोकोलाई खै किन यसरी पालियो ? आफैलाई थाहै भएन । मेरा थुप्रै रहर र इच्छाहरु भित्र फुजीसान घुम्ने रहर पनि थियो एउटा । कारणबस ताल्चा ठोकेर राख्नु परेको थियो । सबै बाध्यता र विवसताहरुलाई पन्छ्याएर कामधन्दाहरुलाई थातिराखेर एउटा रहरलाई स्वतन्त्र छाडिदिने भन्ने कुरा थियो, चानचुन कुरा थिएन ।
उब्जिने बेलामा सजिलै ख्यालख्यालैमा उब्जेका रहर, इच्छा र धोकोहरुलाई पुरा गर्न निकै संघर्ष गर्नुपर्दोरहेछ भन्ने पनि मनमनै गम्न थालेको छु । फुजीसान घुम्न एक्लै जाने आँट गर्ने कुरै आएन र आफ्नो नजिकका साथीहरुले चाहेको बेला र समय अनुकूल मिलाउन पनि सकिरहेको थिईन । बिगतमा पटकपटक जमर्को नगरेको पनि हैन । यतिखेर भने भाग्यबस पुरानो धोकोलाई पुरा गर्ने अवसर जुर्र्यो । मेरो लागि त बल्ल औंशी र पुर्णी एकै दिन जुरे झैँ लाग्यो | सबैसाथीहरुबाट जाने भन्ने एउटा निर्णय भएपछि एक किसिमले त निकै खुसी पनि भएँ । तर सबैजिम्मेवारी आफ्नो काँधमा परेकोले खासै चैन भने हुन सकेन मनमा । अन्धाधुन्दामै अरुले भनेको र सुनेको भरमा रेन्टलमा गाडी लिएर एघार जनाको एउटा समूहको यात्रा सुरु गरियो ।
जापान सूर्योदयको
देश हो अनि ज्वालामुखी र भूकम्पको देश पनि हो । फुजीसान पनि वास्तवमा एउटा ज्वालामुखी विस्फोटनपछि बनेको अग्लो टापु हो । भू-अवस्थितिका आधारमा भन्ने हो भने यो उत्तरी गोलार्धको निकै जाडो हुने ठाउँमा पर्छ । जापानको सिजोवकाकेनमा पर्ने फुजीसान समुद्रको सतहबाट ३७७६ मिटर अग्लो छ । जहाँ जाडो याममा मात्रै हिउँ जम्ने गर्दछ । त्यसैलाईनै फुजीसान भनिन्छ र बिश्व सम्पदामा गनिन्छ । जापानीज भाषामा "फुजी" भनेको स्त्रीलिंग जनिन्छ र "सान" भनेको कुनै नाम, जाति, थर, बर्ग, पद र समूहलाई सम्मानका साथ सम्बोधन गर्दा पछाडि जोडिने शब्द हो ।
हाम्रो हिमालको त कुरै नगरौं नेपालका पहाडहरु नै फुजी हिमालले बाजे भन्न मिल्ने खालका छन । ती अग्ला-अग्ला हिमाल र पहाडहरुको छायाँमा जन्मेर हुर्केको हामी नेपालीलाई त्यो फुजीसान त केही पनि हैन । तर जापानको घुम्नै पर्ने ठाउँ मद्धेको एक भने पक्कै हो । हिमाल चढ्ने भन्दा पनि फुजीसान टुप्पोमा पुगेर 'आसाही' अर्थात् 'बिहानको सूर्योदय' कसरी हुन्छ त्यो हेर्ने मुख्य कुरो हुँदोरहेछ । त्यसैले पूर्णरुपमा हिउँ पग्लेर एउटा सामन्य पहाडमा परिणत भएपछि मात्रै फुजी हिमाल चढ्ने भनेर जापानीहरु फुर्ती दिँदा रहेछन । जुन, जुलाई र अगष्ट बाहेक अरु महिना फुजी हिमाल चढ्न निषेध गरिदो रहेछ ।
टोकियोमा जता फर्के पनि उकुसमुकुस गर्मी खेप्नु परेको यो ज्यानले फुजीसानमा त्यस्तो जाडो हुन्छ होला भन्ने ठानेको थिएन । तरै पनि न्यानो लुगाको जोहो गर्न सबै साथीहरुलाई भनिएको थियो । नभन्दै त्यहा चिसो हावा निकै चल्दो रहेछ । पूर्वयोजना अनुसार बेलुकीको ९:३० बजे जम्मा हुने १०: ०० बजे टोकियो छोड्ने, रातिको १२:०० बजे हिमाल चढ्न शुरु गर्ने, बिहानको ४:०० बजे हिमालको टुप्पो पुग्ने, सूर्योदय हेर्ने, टुप्पोमै खाजाखज्यौली खाने अनि झर्ने, झरेपछि कावागुचीको घुम्ने, 'हाइल्यान्डभित्र पस्ने', खेल्ने भन्ने योजना बनाईएको थियो । झन शुभ-साइतमै सम्पूर्ण योजना डामाडोल त भै गयो ।
साथीहरु निर्धारित समयमा जम्मा हुन सकेनन् । २४ घन्टाको लागि भनेर रेन्टलमा गाडी लिएको साथीहरुको ढिलाईले गर्दा भ्याईदैन कि भन्ने चिन्ताले पो सताउँन थाल्यो । बल्ल तल्ल ११:१५ मा टोकियो छोडियो । फेरी कुनै पसल देख्नै नहुने सबै जनाले पानी, जुस र खाजा भन्दै अल्याङमल्याङ गर्न थाले । जान्ने सुन्ने मान्छेहरुको गोठालो लाग्न गाह्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि घुमाइ फिराइ थाहै नपाई आफै पो गोठाल्नी बनेछु । जब फुजीसान तर्फ हाम्रो गाडी हुइकियो कोही हाँसी मजाक गर्दै थिए, कोही वाक्दै थिए । मेरो मनमा भने अनेक कुराहरु खेल्न थाले : त्यो हाम्रो अग्लो सगरमाथा ढल्केटोपी, माछापुच्छ्रे र धौलागिरी हिमालहरु क्रमशः मेरा मनमस्तिष्कमा आउन थाले, गन्न थालें ।
ती हिमाल पग्लेर बनेका नदीनालाहरु मेरा नशा नशामा बग्न थाले । अनि मेरो प्यारो देश नेपाललाई मुटुभरी खेलाउँदै थिएँ अचानक अगढ़िको सिटमा बसेको सुनिता बैनीले "अबुई ! कस्तो डरलाग्दो जंगल आयो !" भन्दा पो झस्याङ्ग भएछु । फुजीसान पुग्ने-पुग्ने बेला घनघोर जंगलको रोड भएर जानु पर्दो रहेछ । त्यो निष्पट्ट अध्यारो रातमा घनाजंगलको बिचमा उकालो, घुम्ती र भन्ज्याङको बाटो छिचोल्नु पर्दो रहेछ । एक छिन त ती जापानी डाइभर पनि हायल कायल भए। किनभने उनको पनि त्यो रूटमा पहिलो द्राईभिङ्ग थियो । हाम्रो अगाडि पछाडि केही पनि देखिदैनथ्यो । अनि कति छिटै मेरो झिनो रमाईलोलाई त डरले पो क्वाप्पै खाइदिएछ । रोडको दायाँ बायाँतिर गाडीको लाइटले तर्सिएर भाग्दै गरेका तीनवटा मृगहरु पनि देखिए ।
( फुजीसान हिमाल )
|
खासगरी
तीनवटा रुट भएर
जान सकिदो रहेछ
फुजीसान । हामी
सिनफुजीनोमिया भन्ने प्रवेशद्वारमा पुग्नको
लागि त्यो रुट
भएर जानु परेको
रहेछ । प्रवेशद्वारमा
पुग्ने पुग्ने बेलामा त्यो
अध्यारो जंगलको बिचमा रात
बिरात यातायात र
मानव सुरक्षाको लागि
ठाउँ ठाउँमा छोरा
मान्छे र छोरी
मान्छेहरु 'गार्ड' बसेका रहेछन
। त्यो चुक
पोखिए झैँ अध्यारोमा
मान्छे नदेखिने केही उमेर
ढल्किएको स्वर र
विनम्र अनि शिष्ट
भाषामा हामीले अलिकति तलमाथि
गर्दा 'त्यता हैन यता',
'त्यसरी हैन यसरी'
भनेको मात्रै सुनिन्थ्यो
। मलाई त
अचम्मै लाग्यो। साथै
आफ्नो मुलकमा रहेको
एक बिश्व सम्पदाको
सूचिमा दरिएको फुजिसानप्रति जापान
सरकारको त्यत्रो जिम्मेवारी बोध
र तैनाथ रहेका
इमान्दार र वफादार
सुरक्षाकर्मीहरुलाई मनमनै अभिवादन गरें ।
म लगायत समर गिरी, खड्क गुरुङ, बिनोद बानिया, अशोक गिरी, गायक बिलन थापा मगर, इश्वरी लक्ष्मी गिरी, सीता तामाङ, सुनिता गुरुङ जानुका बानिया र गायिका मिना लामा समेत गरेर हामी एघार जान नेपालीको हुलले रातिको २: ९ बजे सानो पिलपिले टर्चलाइटको भरमा फुजीसान चढ्न शुरु गर्यौं । धेरै जसो नाकले जोत्ने उकालो रहेछ । माथि टेक्यो तल तलतिर घर्किने खालको गग्रेटो माटो र दुंगाको बाटो रहेछ । खासै बाटो नै भनेर खनेर बनाउने चलन रहेनछ । बर्षेनी बाटो बिस्तरिदो रहेछ । जताजता अलि हिड्न सजिलो छ, त्यतै बाटो नअल्मलियोस भनेर नाइलनको डोरी टाँगिएको रहेछ ।
बाटो त्यतिसारो अप्ठ्यारो त थिएन । गाउँमा हुँदा त्यस्ता बाटामा त आखाँ चिम्लेर बुर्कुसी मारिन्थ्यो । तर हिड्ने नाता टुटेपछि आफैले बुर्कुसी मार्ने गरेको त्यो अतित एउटा कथा जस्तै हुँदोरहेछ भन्ने पनि यतिखेरै अनुभव गरेँ । हस्याङफस्याङ र स्याँस्याँ गर्दै उकालो चढ्न थालियो । अनि के पारा आउँथ्यो, हिड्नै सकिएन ! बिचरा, हाम्रो बिलन भाई नभएको भए बिच बाटोमै बिटमार्ने अवस्था पनि आउन सक्थ्यो । साथीहरुको साथ हिड्न नसकेपछि नमज्जा लागेको थियो । मेरो कारणले अरु साथीहरुलाई पनि नमज्जा भईरहेको थियो । एक घण्टा जति के हिडेका थियौं, गाह्रो भएको मलाई मात्रै होला भनेको त उता सीता सोल्टिनीको हालत पनि उस्तै रहेछ । "म त यहि बस्छु अव सक्दिन", पो भन्न थाल्नु भो ।
शायद आजसम्म मलाई त आफन्त भनिने र नजिकको गनिनेहरुले त्यसरी वास्ता वा सरोकार नगरेका, नराखेका रहेछन कि जस्तो पनि लाग्यो । बिलन भाइले मप्रति त्यति धेरै वास्ता गर्दा म त भावुक पो बन्न पुगेछु । अनि उनले थाहा नपाउने गरी उनका काधमा आँशुका थोपा पनि झरेछन ।बिलन भाई त कला र गला भएको मान्छे भनेको त अरुलाई हँसाउन पनि माहिर रहेछन । उकालो चढ्न नसकिरहेको बेलामा झन हाँसाएर एक मुठ्ठी प्राण नै फुस्केला जस्तो गराए । धन्यवाद बिलन भाई ! त्यो गुन कहिलै बिर्सने छैन । यदि यो दिदीको आशीर्वाद लाग्ने रहेछ भने संधै सफलता मिलिरहोस !
करिव ४ घण्टा हिडेपछि जेनतेन ३२५० मिटरसम्म पुगियो । भोक पनि लागेको थियो । खाजा खाने भनियो । गिरी दाइँ भाउजुले त चरप्पई पिरोपिरो आलुको अचार, चिउरा, दालमोठ पो बोकेर लैजानु भएको रहेछ ।त्यसैमा अरुले ल्याएका चना लगाएत के के मिसाएर टन्नै खाइयो । गिरी दाइँ र भाउजुलाई हृदयदेखि धन्यवाद भन्दै खान त खाइयो, खाएपछि चल्नै सकिएन । धेरै जसोले त्यहाँ भन्दा माथि चढ्ने आँट गर्नै सकेनन् ।त्यति नै बेला गिरी दाइको छोरा आशोक भाइको त झन पिडौला फर्केर आपत नै पर्र्यो । अब बाँकी हिड्न ५२५ मिटर मात्रै रहेछ । "त्यो अँध्यारोमा हिडेर जो आइएको थियो अब झर्ने कसरी होला ?" भनेर सबैले चिन्ता ब्यक्त गरे । मलाई पनि त्यही चिन्ताले सताई रहेको थियो ।
बिहानको सूर्योदय हेर्ने समय टरिसकेर पनि घाम छिप्पिँदै हाम्रो थाप्लोमाथि आइसकेको थियो । त्यसैले फुजीसानको टुप्पोमा नपुगी ओरालो झरियो । उकालोमा त बरु चारपाउले टेकेर भएपनि हिड्न सकेको थिएँ । ओरालोमा त चारपाउ टेक्न पनि नमिल्ने रहेछ । खुट्टा ओइलिएको मूला जस्तो भैसकेको थियो । उकालो जादा त बिलन भाइले एक्लैले तानेका थिए । झन ओरालो झर्दा दुइजना चाहियो । मिना बहिनी र बिलन भाइले दुईतिर समातेकै आवस्थामा पनि पटकपटक बल्ड्याङ्ग खाइएछ। हामी ओरालो झर्दै गरेको बेला १०, १२ बर्षका फुच्चेफुच्चीहरु देखि सेतै फुलेका, कुप्राकुप्री परेका बुढाबुढीहरु पनि उकालो चढिरहेका थिए | आक्कल झुक्कल दुई चार पश्चिमा पर्यटकहरु पनि देखिन्थे र दुई जना भारतीय महिलाहरुसँग पनि जम्काभेट भयो ।
मनै न हो ! यात्राको क्रममा थकाइ लागेको र गाह्रो भएको बेला, नयाँ र मीठो अनुभूति गरेको बेला अनि खुशी र आनन्द लिएको बेला, केही हराएको वा छुटेको वा एउटा त्यस्तै छुट्टै महशुस भयो । यो जीवनमा फुजीसानसंगको पहिलो र अन्तिम भेट त्यही नै होला भन्दै, थाकेर लखतरान परको ज्यानले फुजीसानलाई 'टाटा' र 'बाई बाई' गर्दै ओझेल परियो । त्यसपछि कावागुची तर्फ लागियो । फुजिसानको आँगनीमा 'साइको' नामका ५ वटा अर्थात् ५ बहिनी तालहरु छन । यसमा 'साइको' भन्नाले 'सर्वोत्तम' भन्ने अर्थ लाग्दछ । त्यही ५ वटा तालहरुको नामबाट मेड-इन-जापान, 'साइको फाइभ' घडी चल्तीमा आएको हो । त्यहाँको भौगोलिक बनावट ठ्याक्कै पोखरा र फेवाताल जस्तै लाग्यो । अनि अरुले खै के गरे ? मैले त पोखरालाई धेरै मिस गरेँ !
फेवातालको बिचमा बाराही मन्दिर भए झैँ साइको तालको बिचमा पनि एउटा मन्दिर रहेछ । तालको वरिपरिको बातावरण र बस्तीहरु पनि पोखराकै झल्को मेटाउने खाले रहेछन । खै किन हो ? कावागुचीको शीतल सामिप्यसँग बिछोडिन मन नै लागेको थिएन " तिमीसंग छुट्टिन मनै लागेको थिएन, अँगालिरहन पनि समय र कर्मले दिएन" भने झैँ समयले नेटो काटिसकेको थियो । समयको अभाबले 'हाइल्याण्ड'भित्र पस्न भ्याएनौ बाहिरबाट दर्शन गरियो । यसरी सन २०१३ जुलाई १३ को फुजीशान भ्रमणको अन्त्य गरियो ।
जे जस्तो भए पनि हाम्रो त्यो भ्रमण समग्रमा अविस्मरणीय नै रह्यो ।
*