[Below posted is a chronology of events relating to the Magars of Nepal. The government figures show the Magars making 3rd largest size by 7.14 % ( 2001) of Nepal's population after Chhetris and Brahmans in the country today. A western author, David Langstone Bolt, has written that the Magars made 33% or 1/3 (सबभन्दा ठूलो, तीन भागको १ भाग अर्थात ३३ प्रतिशत जनसंख्या) of the total population of Nepal in the late sixties ( please see his book 'The Gurkhas: 1967'), however, a question may be raised how he got the data as no ethnic numbers were enumerated in the national population census in those days. But it is a stark reality that many surnames of the Magars such as: Rana , Thapa, Budhathoki, Gharti and many others are similar to the surnames of Chhetris which can totally confuse the enumerators at Central Bureau of Statistics in Kathmandu. If numbers are to be counted in democracy, the Magars would then deserve third largest portion of direct representation in the governance of Nepal. But the fact is that they are nowhere to be seen. The article offers a detailed chronology of the events that took place among the Magars of Nepal since 1950 or sometime earlier. Readers may otherwise contest the dates of the events should they wish to do so.- Editor]
नेपालका मगर जातिको सामाजिक एवम् संस्थागत विकासको क्रमवद्ध चरणहरु : एक अनुशीलन
लेखक त्रिलोक सिंह थापा मगर
पृष्ठभूमीः
मगर जनजाति नेपालको सवभन्दा प्राचीन आदिवासी भूमिपुत्र हुन् । आफ्नै मौलिक, संस्कृति, भाषा, धर्म, सामाजिक परम्पराका धनी मगर जनजाति आदिवासी जनजातिहरूमध्ये जनसंख्याको दृष्टिकोणले सवैभन्दा ठूलो र सबै जिल्लाहरूमा बसोवास गर्ने जाति मगर जाति हो । यो मूलतः मंगोलियन मूल जाति हो । मगरहरूको आफ्नै गणराज्यहरू नेपालमा १६ औं शताब्दी सम्म रहेको इतिहास पाइन्छ ।
गोरखाका अन्तिम खड्का मगर राजालाई द्रव्यशाहले साम, दाम, दण्ड, भेदको नीतिबाट राजगद्दीबाट विस्थापन गरि मगर राज्यको अस्तित्व समाप्त पारे । मगर जाति शासकबाट शासितमा झरे । मगराती भाषा, संस्कृति तथा धर्म माथि धावा बोलियो । नेपालको एकीकरणको नाममा राजा पृथ्वी नारायण शाहले वर्तमान नेपालको भौगोलिक एकीकरण प्रारम्भ गरे । यसै क्रममा पूर्वको “मगराज्य”“बाह्रमगरात” पश्चिमको मगराज्य “अठार मगरात”का अस्तित्व विलिन हुन् गयो । जङ्ग बहादुर राणाले जारि गरेको मुलुकी ऐनले नेपालको बहुजातीय एंव बहुसांस्कृतिक स्वरुपलाई हिन्दु वर्णश्रमको सामाजिक संरचनामा समावेश गर्ने गराउने प्रक्रिया शुरु भयो । झन पञ्चायतकालमा एकल संस्कृतिको थालनी शुरु भयो । मगर जनजाती र आदिवासीको आफ्नो संस्कृति, भाषा, सामाजिक परम्परा विलुप्त हुन थाल्यो ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भयो । प्रजातन्त्रको स्थापना भयो । तर मगर जनजातीलाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्ने गारउने राज्यले कुनै वातावरण तयार पारेन । अपितु विगतको जातीय विभेदीकरण, दमनकारी, पक्षपाति निरुकुंश, केन्द्रीकृत तथा बाहुन क्षेत्रीहरूको एकलौटी शासनलाई यथावत कायम रहि रह्यो । फलस्वरुप आदिवासी मगर जनजातिमा आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक एंव सांस्कृतिक चेतनाको विकास हुन सकेन । राष्ट्रको कुनै पनि क्षेत्रमा मगर जनजातीले पहुँच तथा निर्णायक भूमिका पाउन सकेको छैन । यसै परिप्रेक्ष्यमा काठमाण्डौ र अन्य जिल्लामा बसोवास गरेका मगर जागिरे, विद्यार्थी तथा व्यापारीहरूमा आ–आपस्तमा मगर समुदायको विषयमा चिन्तन मनन् हुन थाल्यो । उक्त चिन्तन मनन्लाई विधिवत संस्थागतरुपमा परिणत गरियो । जसको परिणाम स्वरुप मगरहरूको सर्वाङ्गीण विकासका लागि वि.सं. २०३९ साल १५ गतेको दिन नेपाल मगर संघको विधिवत स्थापना भयो । हुनत नेपाल मगर संघको नीतिगत एंव कार्यान्वन पक्षमा कतिपय कमि कमजोरी समय समयमा देखिन्छ । उदाहरणका लागि प्रायः प्रश्न गरिन्छ के सबै क्षेत्र, वर्ग, लिङ्गका मगरहरूलाई सामानुपातिक रुपले समेटिएको छ वा छैन ? दयनीय जीवन विताइरहेका मगरहरूका घर दैलो मगर संघ पुग्न सकेको छ वा छैन ? कुनाकाप्चाका मगरहरूलाई आफ्नो हक अधिकार र हिंतको बारे सुचित गरिएको छ वा छैन ? मगरको प्रार्शक्षित जनशक्तिका लागि संघको कुनै नीति छ वा छैन ?
उपयुक्त जे जस्ता प्रश्न तथा शंकाहरु भएता पनि “नेपाल मगर संघ” एउटा सशक्त आदिवासी संस्थाको रुपमा उभिन आएको छ । मगर जनजातिको शक्तिशाली संगठन बन्नआई पुगेको छ । मगरहरूको हक, हित, अधिकारका लागि संघर्ष गर्ने सजग सचेत संस्थाको रुपमा उदय भएको छ ।
अतः विश्व भरिका मगरहरूले उत्साह र धूमधाम पूर्वक फाल्गुण १५ गतेलाई मगर दिवसको रुपमा मनाउने गरेकाछन् । यो मगरहरूको सवभन्दा ठूलो चाड “नेपाल मगर संघ स्थापना दिवस हो ।”
नेपाल मगर संघ
“नेपाल मगर संघ” नेपालका आदिवासी जनजातीका संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो तथा सबै भन्दा ठूलो सामाजिक संस्था हो भनेर भन्न सकिन्छ । यसै कारण यस संस्थाको क्रमिक विकास पनि संघर्षमय रहेको छ । वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि आएको तत्कालीन विघठित पंचायत कालमा यस संस्था माथि राज्यद्वारा ठूलो आघात प्रहार तथा थिचो मिचो भएको थियो । यस संस्थाका क्यौं कार्यकर्ताहरु माथि प्र्रहरी प्रशासनले समय समयमा अत्याचार गरेका थिए । तै पनि मगर समाजका कतिपय अग्रज समाजसेवीहरुले यस संस्थाको विकास विस्तारमा कठोर लगनशीलता एंव दृढ्ता देखाएका थिए । जस्को फलस्वरुप “नेपाल मगर संघ” आज संशक्त सामाजिक संस्थाको रुपमा उभिएको छ । स्वदेश एंव विदेशमा यस संस्थाको शाखा एंव भाइचारा संगठनहरुको विशाल सञ्जालको रुपमा स्थापित भएकोे पाइन्छ । अधिराज्यको ६५भन्दा बढि जिल्लाहरुमा नेपाल मगर संघ जिल्ला समितिहरु तथा भाईचारा संगठनहरु सक्रिय रहेको छ । विदेशमा पनि मगर जाति संग सम्बन्धीत विभिन्न संघ संस्थाहरु मगर जातिको विकास तथा मगर संस्कृतिको संरक्षण सम्वर्धनमा सक्रिय रहेका छन् ।
“नेपाल मगर संघ”को क्रमिक विकास
“नेपाल मगर संघ”को क्रमिक विकास एंव विस्तारलाई मोटामोटी रुपमा विभिन्न चरणमा विभाजित गर्न सकिन्छ । यो वर्गिकरण वैज्ञानिक नभएता पनि “नेपाल मगर संघ” कसरी हाल सम्म विकसित भै आएको हो सो वारे छोटकरीमा परिचय दिन सकिन्छ ।
मगरहरुको घोषित संगठन वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि आरम्भ भएको हो । वि.सं. २०१२ साल देखि २०१७ साल सम्म अवधिलाई “नेपाल मगर संघ”को क्रमिक विकासलाई प्रथम चरण भनेर वर्गिकरण गर्न सकिन्छ । यस प्रथम चरणमा मगर समुदायमा सामाजिक जागरण, समाज सुधार, समाज कल्याणका कार्यक्रम माथि “नेपाल मगर संघ” केन्द्रित रहेको थियो ।
वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि मगर संघको शुरुवात भए पनि वि.सं २०१४ सालमा गुल्मी भार्सेमा मगरहरुको “वृहत मगर सम्मेलन” आयोजित भएको थियो । जसलाई “नेपाल मगर संघ”को “प्रथम सम्मेलन” भनेर आधीकारिक रुपमा मानि आएको छ । वि.सं. २०२२ सालमा “लाङघाली परिवार”को काठमाण्डौंमा स्थापना भयो । वि.सं. २०३८ सालमा रुपन्देहीमा “कानुङ लाङघाली परिवार”को आयोजनामा मगर समाजको वृहत सम्मेलन सम्पन्न भयो । यो सम्मेलनलाई “नेपाल मगर संघ” को दाश्रो राष्ट्रिय सम्मेलन र प्रथम अधिवेशन सम्पन्न भयो । यसरी “नेपाल मगर संघ”को वि.सं. २०१२, २०१४, २०२२ र २०३९ साल ऐतिहासिक एंव महत्वपुर्ण वर्षको रुपमा रहिआएको छ ।
प्रथम चरण (वि.स. २०१२–२०१७ सम्म) सामाजिक जागरण समाज सुधार एंव समाज कल्याणः–
मगर समाज सुधार संघ काठमाण्डौं (वि.स.२०१२ )
वि.स. २००७ सालमा प्रजातन्त्रको पार्दुभाव भएपछि मुलुकको अन्य आदिवासी जनजाती सरह मगर बुद्धिजिवीहरु बीच पनि जागरुकता एंव चेतनाको शुरुवात भएको पाइन्छ । अतः त्यस वेला काठमाण्डौं उपत्यकामा बसोवास गरेका जागरुक मगर समुदाय विशेष गरि जागिरे, विद्यार्थी तथा साना तिना व्यापार गरि आय आर्जन गरि वसेका मगरहरु आ–आफ्नामा भेटघाटको सिलसिलामा मगर जातिको विकाश, उत्थान र चेतना जगाउने बारेमा चिन्तन मनन गर्न थाले । यसैको फल स्वरुप मगर समाजमा शैक्षिक एंव सामाजिक सुधार बारे चेतना एंव जागरुकता जगाउन २०१२ वैशाख २६ गते “मगर समाज सुधार संघ” काठमाण्डौं स्थापना भएको थियो । (नर बहादुर थापा, नरु थापा – किरात मगर इतिहास पाना ७८)
वास्तवमा नेपाल मगर संघको पहिलो जग नै २०१२ वैशाख २६ गते स्थापित “मगर समाज सुधार संघ” काठमाण्डौंलाई लिन सकिन्छ । उक्त सस्थाको सस्थापक सदस्यहरुमा गुल्मीका स्व. भिम बहादुर बुढाथोकी उप सभापति, काठमाण्डौं निवासी ढलक प्रताप राना प्रमुख सचिव तथा सदस्यहरु पदम सिंह थापा, देवान सिंह थापा थिए । अध्यक्ष पदमा भाग्सू धर्मशाला निवासी हुनुहुन्थ्यो ।
यस संस्थाको केन्द्रिय कार्यालय काठमाण्डौंको नरदेवीमा रहेको थियो र उक्त केन्द्रिय कार्यालयका प्रमुख सचिव ढलक प्रताप राना हुनुहुन्थ्यो । उहाँले २०१४ सालमा गुल्मीको भार्सेमा हुने “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” मा शुभकामना पत्र पठाउनु भएको थियो । (मधुमालती बुढाथोकी “शोध माला” पृष्ठ १२) यस बाट के कुराको जानकारी हुन्छ भने काठमाण्डौमा मगर समाज सुधार संघ स्थापना पछिमात्र मौफसलमा मगर समाज सुधार संघको स्थापना भएको थियो ।
त्यसपछि वि.स. १०१२ सालमा गुल्मीको भार्से मा मगरहरुलाई सामुहिक रुपमा संगठित गरि चेतना फैलाउने काममा गिरीप्रसाद बुढाथोकीको नेृत्वमा मगर समाज सुधार संघ भास्रे स्थापना भएको थियो ।२०१२ सालमा दैलेखमा पदम सिंह थापा मगर “मगर समाज सुधार”को रुपमा मगराँतमा देखा परेका थिए । (हर्ष बहादुर बुढा मगर,“किरात वंश र मगरहरु पाना ४८१)
यसै क्रममा २०१३ सालमा पूर्वाचंलमा मगरहरुमा पनि मगर एकताको अभियान संचालन हुन थाल्यो । सोही वर्ष मोहत्तरीमा मगर भेला भयो । २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा मेजर टेक बहादुर पुन मगरको अध्यक्षतामा मगर भेला सम्पन्न भयो । सो भेलामा घर धुरी अनुसार अर्थ संकलन गरि बाढी र आगलागि पिडितहरुलाई अन्न दिने, विद्यालय खोल्ने संचालन गर्ने कार्यक्रम आदि निर्णय गरिएको थियो ।
मगर समाज सुधार संघको विस्तार
वि.स. २०१४ सालमा फाल्गुण २७ देखि २९ गते सम्म पूर्व देखि पश्चिमका विभिन्न जिल्लाका मगर प्रतिनिधिहरुको सहभागितामा “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” गुल्मी जिल्लाको भार्सेमा सम्पन्न भयो । सो सम्मेलनमा जम्मा ५०० जना प्रतिनिधिहरु तथा ४००० मगर जन समुहको माझमा गिरी प्रसाद बुढाथोकीलाई सर्व समितिबाट सम्मेलनको सभापतिका छनोट गरिएको थियो । सो सम्मेलनमा १८ सदस्यीय विधान मस्यौदा मण्डल गठन गरिएको थियो । (शोधमाला अङ्क १ २०६३) सो “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन”मा केन्द्रिय कार्यालयका काठमाण्डौं तथा सल्यान जिल्लाका प्रतिनिधि देवान सिंह थापाले सहभागीको रुपमा सम्मेलनमा भाग लिनुभएको थियो । उक्त अवसरमा उहाँले दिनुभएको मन्तव्य यस प्रकार छ,“ मगर समाज सुधार संघ वि.स. २०१२ सालमा काठमाण्डौमा स्थापित भएको हो ।
आजको निरक्षरी समाजलाई साक्षरी बनाई आजको प्रगतिशिल समाजको दाँजोमा पु-याउनु प्रयत्न गर्नु हो ।” (शोधमाला वर्ष २ अंक १ पाना १२) गिरी प्रसाद बुढाथोकीको सक्रियतामा संचालन भएको भव्य मगर भेलाले त्यस भेगका मगरहरुमा व्यापक जनचेतनाको विकास गरेको थियो । वि.सं. २०१४ सालमा सम्पन्न भएको “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनको व्यापक्ताले देखेर “नेपाल मगर संघ”ले यो सम्मेलनलाई सो संघको प्रथम सम्मेलन मानि आएको छ ।
यसै क्रममा एक देवआलेले तनहुँमा र रण बहादुर आलेले गोर्खामा २०१३ सालमा त्यस भेगका मगरहरुलाई संगठित गरेका थिए । वि.स. २०१४ सालमा तनहुँको फुलुङ भन्ने गाउँमा एक देव आलेको नेतृत्वमा त्यस भेगका मगरहरुको वृहत सम्मेलन भएको थियो । रण बहादुर आलेले उक्त सम्मेलनको व्यवस्थापनका लागि सक्रिय रुपमा सहयोग गरेका थिए र उक्त सम्मेलन धुमधामका साथ सम्पन्न भएको थियो ।
वि.स. २०१२ सालमा काठमाण्डौंमा “नेपाल मगर सुधार संघ”को स्थापनाबाट मगर संघ संस्थाहरुको संगठर्न शुरुवात भएको हो । अधिराज्यका विभिन्न जिल्लाहरुमा “मगर समाज सुधार संघ”,“मगर समाज कल्याण समिति”, “मगर समाज सुधार समिति”, “लाङघाली परिवार” र “मगर समाज सेवा केन्द”्र आदि नामले मगर संघ संस्थाहरु खुलेको पाइन्छ । मगर संघ संंस्थाहरुको उद्देश्य मगर जनजातिमा जागरण चेतना उत्पन्न गर्नु गराउनु थियो । मगर समाजमा विद्यमान सामाजिक चलन, प्रथा, रीति थितीहरुलाई समयानुकु्ल परिवर्तन एव परिमार्जन गर्दै लैजानु थियो । मगर आदिवासी जनजातिको मौलिक संस्कृतिलाई संरक्षण एंव सम्बर्धन गर्नु गराउनु थियो । साथै मगर समुदायमा सामाजिक सेवाका कार्यक्रमहरु कार्यान्वयन गर्नु गराउनु् थियो । यो अवधि वि.सं. २०१२ देखि २०१७ साल सम्म रहेको थियो । यस अविधिमा “नेपाल मगर संघ” वाम सर्दै थियो । मगर समाजमा जागरुकता उत्पन्न गर्ने संस्थात्मक प्रयासमा मगर वुद्धिजिवीहरुको संलग्नता वढ्दै गरेको थियो । सो सक्रियता वि.सं. २०१७ सालमा रोकिन गयो ।
दोस्रो चरण (२०१७–२०३७) जागरण अभियान
“नेपाल लाङघाली परिवार” (२०२८)
वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि मुलुकको सम्पूर्ण राजनैतिक एंव सामाजिक क्रिया कलाप एंव संस्थाहरु माथि तल्कालिन राज्य सरकारले प्रतिबन्ध लगायो । फलस्वरुप सम्पूर्ण मगर संग सम्बन्धित संघ संस्थाहरु निष्कृय भए । वि.स. २०२७ साल सम्म मगर संघ संस्थाहरु निष्कृय थिए । तै पनि चेतनशील मगर वन्धुहरु गोप्य रुपमा भेटघाट गर्ने, छलफल गर्ने क्रम अथावत नै रहेको थियो । वि.सं. २०२८ सालमा पूर्व आइ.जी.पी. एंव राजदुत हर्क बहादुर थापा मगरको सर सल्लाहा तथा प्रेरणमा मगर विद्यार्थी एंव बुद्धिजिवीहरुले “नेपाल लाङघाली परिवार”को नाउले मगर संस्था काठमाण्डौंमा स्थापना भएको हो । सो संस्थाको अध्यक्षमा खिलध्वज थापा मगर वरिष्ठ पत्रकार सर्व सम्मतिबाट निर्वाचित हुनु भयो । माया राना उपाध्यक्ष र कुल बहादुर राना महासचिव हुनुभयो । यसै संस्थाको देखासिकी मगरहरुले विभिन्न जिल्लामा र विभिन्न समयमा मगर संस्थाहरु खोल्न थाले । खिलध्वज थापाको नेतृत्वमा सो संस्थाले शैक्षिक एंव सांस्कृतिक जागरुकताका लागि सक्रिय भूमिका खेलेको थियो । साथै विभिन्न ठाउँमा मगर संस्था खोल्ने प्रोत्साहन र प्रेरणा पनि प्रदान ग-यो ।
वि.स. २०३२ सालमा “ कानुङ लाङघाली परिवार” रुपनदेहीमा “मगर समाज कल्याण समिति” म्याग्दीमा खोलियो । त्यस्तै २०३५ देखि २०३६ सालको अवधिमा वाग्लुङ्ग, बाँके, सुर्खेत र दैलेख जिल्लाहरुमा “मगर सुधार समिति”हरु खोलिए भने पाल्पामा मगर समाज सुधार समिति, कास्कीमा “लाङघाली परिवार” आदिमा मगर संस्थाहरु स्थापना हुदै गए । “कानुङ्ग लाङघाली परिवार” (२०३६) “मगर समाज कल्याण समिति (२०३२) मगर समाज सुधार समिति (२०३५) लाङघाली परिवार (२०३६) आदि नामबाट स्थापित भएका मगर संघ संस्थाहरुको मुख्य उद्देश्यहरु पूर्णरुपमा मगर समाजको सामाजिक, साँस्कृतिक साहित्यिक एंव भाषा आदिको संरक्षण, एंव सम्बर्धन गर्न गराउन थियो । यसै अवधिमा “लाङघाली” पत्रिकाको प्रकाशन पनि भएको थियो । डा. हर्षबहादुर बुढा मगर, एम.एस.थापा र अन्य मगर लेखकहरुबाट मगर जातिको इतिहास, सामाजिक व्यवस्था, साँस्कृतिक एंव भाषा आदि बारेमा गहकिलो प्रकाशन समेत भएको थियो ।
लाङघाली परिवार तदर्थ समिति (२०३६)
अधिराज्यका विविध जिल्लाहरुमा छरिएका मगर संगठनहरु वीच सम्र्पक र समन्वय स्थापित गर्दै एक सुत्रमा मगर संस्था आवद्ध गर्नु पर्ने आवश्यक देखियो । सोही उद्देश्यले डा. हर्ष बहादुर बुढामगरको अध्यक्षता र सक्रियतामा २०३६ सालमा “ लाङघाली परिवार तदर्थ समिति” गठन गरियो । प्रचार प्रसार सचिव देवेन्द्र आले तथा सदस्यहरुमा के.वी. मगराती र बावु राना मगर थिए । सो परिवारको उपाध्यक्षमा तोप बहादुर थापा, सचिवमा सुरेश आले, कोषाध्यक्षमा केशरजंग बराल रहेका थिए । तर यस तदर्थ समितिले अधिराज्यका अन्य ठाउँमा मगर संस्थाहरुलाई एकसूत्रमा समेटन सकेको देखिएन । यो तर्दथ समिति निष्कृय नै रहयो । ( नर बहादुर (नरु) थापा, किरात मगर इतिहास पाना ८६)
तेस्रो चरणः (वि.सं. २०३८–२०४७) संस्थात्मक विकास
वि.सं. २०३८ देखि २०४७ साल सम्मको अवधिमा “कानुङ्ग लाङघाली परिवार” को नेतृत्वमा अधिराज्य भरिका मगर संघ संस्थाहरु संस्थात्मक रुपमा संगठित एव आवद्ध भए । मगर समुदायको एकताको संस्थात्मक विकासको शुरुवात पनि यसै अवधिमा भएको हो । मगर जातिको पहिचान तथा सामाजिक एंव साँस्कृतिक विकासका लागि यस अवधि धेरै कार्यक्रमहरु संचालन भएको थियो ।
वि.सं. २०३८ सालमा माघ २८ र २९ गते वावुरामको अध्यक्षता र जय बहादुर हितान रहनुभएको “कानु्ङ लाङघाली परिवार” रुपनदेही बुटवलमा गरेको सम्मेलनमा पुरानो “लाङघाली परिवार”लाई विघटन गरि नयाँ तदर्थ समिति “नेपाल लाङघाली परिवार संघ” केन्द्रिय समिति खडा गरियो । सोको अध्यक्ष पदमा हेम बहादुर पुन (पोखरा) उपाध्यक्ष रणबहादुर आले, महा सचिवमा सुरेश आले, कोषाध्यक्ष मनवीर गवुर्जा र प्रचार प्रसार सचिव जय वहादुर हितान रहनु भएको थियो । यस तदर्थ समितिमा २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेम बहादुर पुनको सक्रिय नेतृत्वमा २०३९ साल फागुन १४,१५ र १६ गते दमौलीमा संघको तेश्रो राष्ट्रिय सम्मेलन र प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । यो सम्मेलनमा अधिराज्यका हरेक क्षेत्रका मगर संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता तथा संलग्नता रहेको थियो । त्यसैले यस महाधिवेशनले राष्ट्रिय स्तरको स्थान प्राप्त ग¥यो र यसलाई प्रथम राष्ट्रिय महाधिवेशन मानिआएको छ ।
हेम बहादुर पुनको अध्यक्षतामा मगरहरुको सर्वाङ्र्गाण विकासका लागि स्थापित यस संस्थाले राष्ट्रिय स्वरुप धारण ग-यो । मेचि देखि महाकाली सम्म छरिएर रहेका विभिन्न मगर संघ संस्थाहरुलाई एकीकृत रुप दियो । यसले यो मगरहरुको छाता संगठन निर्माण हुन गयो । तीन प्रकारका भाषा वोल्ने मगरहरु, विभिन्न धर्म मान्ने मगरहरु, विभिन्न भेष भुषा र रितिरिवाज मान्ने मगरहरुलाई यस ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सुत्रमा बाँधेको छ ।
हेम बहादुर पुनको योग्दानकोलागि नेपाल मगर संघ केन्द्रिय समितिले उहाँलाई २०४९÷५० सालमा हर्ष पुरस्कारबाट सम्मान गरको थियो । सो सम्मान पत्रमा तत्कालीन नेपाल लाङघाली परिवारको संघको सस्थापक अध्यक्ष भनेर उल्लेख गरिएको छ ।
सस्थापक एंव प्रथम अध्यक्षको मुख्य योग्दान
२०४० साल वैशाख ३१ गते चिप्लेढुङ्गा पोखरामा हेम बहादुर पुनको अध्यक्षतामा वसेको नेपाल लाङघाली परिवार संघको “केन्द्रिय कार्यकारण समिति”को प्रथम बैठकमा निम्न लिखित दुइवटा महत्वपूर्ण प्रस्ताव सर्व सम्मतिबाट पारित गरियो ।
१) प्रत्येक वर्ष फागुन १५ गतेलाई “लाङघाली दिवस”को रुपमा मनाउने ।
२) मगर र गैरह-मगर ( Non-Magars) भन्ने स्पष्ट नहुने भएको हुदाँ आफ्नो नाम र थरको पछाडि “मगर” शब्द भन्ने थप्नु पर्ने ।
प्रथम तथा सस्थापक अध्यक्ष हेम बहादुर पुनले आफ्नो कार्यकालमा मगर समाजमा शैक्षिक, साँस्कृतिक एवं आर्थिक कार्यक्रम संचालन एंव कार्यन्वयन गरेर अविस्मरणीय योग्दान पु¥याउनु भएको छ । जातीय मुक्ति आन्दोलन र तत्कालीन पंचायतको निरुकुश शासनको विरुद्ध प्रजातन्त्र प्राप्त गर्न “नेपाल लाङघाली परिवार” लाई चुनौती साथमा राष्ट्रव्यापी रुपमा संगठित गर्नु गराउनु भयो ।
हालसम्मका महाधिवेशनहरु
महाधिवेशन मिति नेतृत्व सम्पन्न स्थल
प्रथम २०३९ फाल्गुण १५–१६ हेमबहादुर पुनमगर दमौली (तनहुँ)
दास्रो २०४२ फाल्गुण १६–१७ कविराज पुनमगर हैटौडा (मकवानपुर)
तेस्रो २०४५ चैत्र २६–२७ ले. मानध्वज रानामगर नेपालगंज (बाँके)
चौथो २०४८ माघ १०–११ गोरेबहादुर खपाङ्गीमगर काठमाडौँ ( काठमाडौँ )
पाँचौ २०५१ फाल्गुण २६–२९ गोरेबहादुर खपाङ्गीमगर घोराही (दाङ)
छैटौं २०५४ फाल्गुण १५–१८ गोरेबहादुर खपाङ्गीमगर कावासोती (नवलपरासी)
सातौं २०५७ फाल्गुण २१–२३ गोरेबहादुर खपाङ्गीमगर धरान (सुनसरी)
आठौं २०६० फाल्गुण १४–१७ क्या. यम बहादुर बुढाथोकीमगर टिकापुर (कैलाली)
नवौं २०६४ वैशाख ८–१० झक बुहादुर थापा मगर
काठमाडौँ (
काठमाडौँ )
दशौं २०६८ मंसिर २५–२८ महेन्द्र थापामगर तमघास ( गुल्मी )
चौथो चरणः .(वि.सं. २०४८–०६३) विस्तार र शसक्तिकरण
वि.सं. २०४८ देखि २०६३ साल सम्मको कार्यकाललाई चौथो चरण अर्थात नेपाल मगर संघको विस्तार एंव शसक्तिकरणको चरण भनेर भन्न सकिन्छ । पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गीको कार्यकालमा अर्थात २०४८ सालमा नेपाल लाङघाली संघ चौथो महाधिवेशनले सो संघको नाम परिवर्तन गरि “नेपाल मगर संघ” नामकरण गरिएको थियो । उक्त महत्वपूर्ण समारोहमा लखन थापा द्वितीयलाई नेपालको सर्वप्रथम शहिद घोषित गरियोस भनी राखिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको नेतृत्मा अधिराज्का ६५ जिल्लाहरुलाई समेटने गरि “नेपाल मगर संघ” एउटा शसक्त सामाजिक संस्थाको रुपमा उभिएको देखियो ।
वि.सं. २०६०–६३को अवधिमा पुर्वाध्यक्ष यम बहादुर बुढाथोकीको सबल र सक्षम नेतृत्वमा नेपाल मगर संघको संस्थागत विकासमा आवश्यक पर्ने आफ्नै कार्यालय भवन निमार्ण भयो । साथै विदेशमा स्थापना भएका मगर संघ संस्थाहरसंग सुमधुर सम्बन्ध, सम्र्पक एंव समन्वय कायम हुन गयो । यसरी नेपाल मगर संघको संस्थात्मक विकासमा विदेशमा रहेका मगर संघ संस्थाहरु सहयोग निकै महत्वपूर्ण रहेको देखियो ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा “नेपाल मगर विद्यार्थी संघ”को रचनात्मक सक्रियतामा “नेपाल मगर संघ”ले सकरात्मक भूमिका खेल्यो । यसरी जन आन्दोलनमा “नेपाल मगर संघ”ले आफ्नो छवि कायम राख्न सकेको देखिन्छ ।
पाँचौ चरणः (वि.सं. २०६४–हाल सम्म) “हकअधिकारको संघर्ष”
वि.सं. २०६४ देखि आज सम्म “नेपाल मगर संघ”को सामाजिक, साँस्कृतिक क्रियाकलाप र गतिविधिहरु केही न्यून भएको छ । वास्तवमा २०६२÷०६३को जन आन्दोलनको सन्देश अनुसार “नेपाल मगर संघ” मगर जातिको हक हित र अधिकारको जागरण अभियानमा सक्रिय रहेको छ । राज्यको पुर्नसंरचनामा मगरात स्वायत प्रदेशको स्थापनाबारे वृहतरुपमा चेतना मूलत कार्यक्रम संचालन हाल सम्म गर्दै आएको छ । यसै क्रममा अधिराज्यका विभिन्न ठाँउहरुमा लोकतान्त्रिक संवाद, प्रशिक्षण कार्यक्रम, प्रकाशन एंव शान्तिपूर्ण जुलुशहरु संचालन गर्दै आएको छ । राज्य माथि दवाव दिन“मगरात राज्य”को घोषणा एंव मगरात राज्यका सीमानाहरुमा होर्डिङ वोर्ड राख्ने अभियान पनि संचालन गरेको छ ।
निष्कर्षः–
१) प्रारम्भमा सामाजिक संघ संस्थाको रुपमा उदाएको नेपाल मगर संघ समयनुसार मगरहरुको मौलिक हक हित अधिकारहरुलाई सुरक्षित गर्ने गराउने संस्थाको रुपमा हाल विकसित भएको छ । यो समयानुकुल एंव आवश्यक पनि छ । मगरहरूको विभिन्न राजनीतिक विचारधारालाई मगर जातिको मुद्दामा समन्वय गर्र्दैै साझा मंचको रुपमा “नेपाल मगर संघ”ले आफ्नो भूमिका खेलेको देख्न सकिन्छ । यस क्रमलाई अझबढि प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।
२ ) भविष्यमा हुन सक्ने राजनीतिक एंव सामाजिक प्रतिस्पर्धामा “नेपाल मगर संघ”को भूमिका बारे मगर वुद्धिजीवी एंव समाजसेवीहरु वीच व्यापक वहस हुनु पर्ने आवश्यकता कतिपय समाज सेवी एंव वुद्धिजिवीहरुले अनुभव गरेकाछन् । साथै आदिवासी जनजाती संघ संस्थाहरु मध्ये नेपाल मगर संघको इतिहास सबैभन्दा लामोे र सबभन्दा ठूलो संजालको रुपमा रहेको हुदाँ सो संस्थाको व्यापक्तालाई के कसरी अझ अगाडि बढाउदै लैजाने विषयमा विचार विमर्श पनि गर्न पर्ने आवश्यक छ ।
३) नेपाल मगर संघको व्यापकता एंव विशाल संजाल हुनु यो आफैमा ठूलो उपलब्धी हो । यसबाट मगरहरूमा जागरुकता तथा चेतनामा वृद्धिभएको आभास पाइन्छ । यो भावना आवश्यक भएता पनि मगरजनजातीको चौतर्फी विकासका लागि नेपाल मगर संघले ठोस एंव व्यवहारिक कार्यक्रमको तर्जुमा संचालन एंव कार्यान्वयन गर्न आजको आवश्यकता देखिन्छ । अनुभवी एंव प्रतिक्षित वुद्धिजिवीहरूको सहभागितामा मगर जातिको आर्थिक, शैक्षिक, तथा राजनैतिक विकासका लागि अल्पकालीन एंव दीर्घ कालिन योजनाको तर्जुमा गर्न गराउन नितान्त आवश्यक छ । साथै मगर जनशक्तिलाई क्रमिक रुपमा विकाति गर्दै जानु पर्ने पनि आवश्यक छ ।
***