[On April 8, 2010, The Himalayan Voice had published an article on Nepalese New Year 2067. Below is an article on Nepal Sambat - an era started 1131 years ago by a social reformer Sankhadhar Sakhwa of Kathmandu Nepal. Sankhadhar Sakhwa has been recognized as a great historic personage of Nepal recently.]
गलत नियतमा प्रयुक्त विक्रम सम्बत् र अस्वीकृत नेपाल सम्बत्
नेपाल सम्बत् एउटा यस्तो सम्बत् हो जो नेपालको भूगोलमै सृजित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि राष्ट्र्कै नामबाट निरन्तरित भइआएको छ । भनिन्छ राजा राघवदेवको पालामा शङ्खधर भन्ने सामान्य व्यक्तिले इ. सं. ८७९/८८० मा देशभरीका रिणहरु मोचन गरी यो सम्बत् चालए । नेपाल खाल्डोभित्र यसले लामोसमय ८९० वर्ष सम्म राजकीय सम्बत् को रुपमा राज गर्यो । नेपाल सम्बत् शुरु भएपछि विक्रम सम्बत् र शक सम्बत् को प्रयोग साह्रै कम प्रयोग गरिएको इतिहासले बताउँछ । यीनलाई सोह्रौँ शताब्दीका शिलालेखहरुमा जयार्जुन र जयस्थितिमल्लले जम्मा तीनपल्ट मात्र गरेका पाइएका छन् (मेडिएभल नेपाल पृ. ७४.) पृथ्वीनारायण शाहले इ. सं. १९६९ मा नेपाल एकिकृत गरेपछि मात्र नेपाल सम्बत् को राजकीय निरन्तरता टुट्न गयो । यीनले आफूले गोरखामा प्रयोग गर्दै आएको शक सम्बत् लाई इ. सं. १९६९ देखि प्रयोग गरे जसको निरन्तरता इ.सं. १८०४ सम्म अर्थात १६५ वर्षसम्म कायम रह्यो । त्यसपछि उनैका सन्तान राजा त्रिभूवनको पालामा इ.सं. १८०४ देखि अर्थात विक्रम संवत् १९६१ देखि बैसाख १ गतेदेखि विक्रम संवत्को शुरुवात भयो । नेपालमा हाल विक्रम संवत् राजकीय हैसियतको उमेर १०६ वर्षमात्र पुगेको छ ।
भनिन्छ कि शक संवत् र नेपाल संवत् दुवै तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरुको स्थिति अछाडि वा पछाडि भइरहने हुँदा शासन व्यवस्थामा असजिलो हुन्थ्यो र सजिलो बनाउनको लागि चन्द्रशम्शेरले धेरै ज्योतिषीहरुको सल्लाह लिए र तीथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गतेदेखि नेपालमा गतेमा लेख्ने चलन चलाए । स्मरणीय यो छ कि तिथिको आधारमा चल्दै रहेका नेपाल संवत् र शक संवत्मा जम्मा ३५४ दिनको एक वर्ष हुन्छ जब कि विक्रम संवत्को वर्ष ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपलामा पूरा हुन्छ । अर्थात शक संवत् र नेपाल संवत् दुवै चन्द्रमाको गतिअनुसारको गणना निर्धारित हुन्थ्यो भने विक्रम संवत् सूर्यको ।
विक्रम सम्बत् वा शक सम्बत् आयातित सम्बत् मानिने हुँदा नेपालका माटोप्रेमीहरु नेपाल सम्बत् लाई नै नेपाली गर्बको सम्बत् मान्दछन् । भनिन्छ यसलाई संयुक्त राष्ट्र सङ्घमा नेपाली राजकीय सम्बत् को रुपमा समेत दर्ज गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तन पछि त यसका सँस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान दिइएको हुँदा भन्नैपर्छ यो सम्बत्््ले राजकीय सम्बत् को रुप नपाए पनि राजकीय सम्मान भने पाएकै हो । आयातित मानिएको विक्रम सम्बत् ले राजकीय स्थान पाउँदा धेरै राष्ट्रबादी चिन्तकहरु नेपाल सम्बत् लाई नै यस स्थानमा बिराजमान गराउन चाहन्छन् । मेरो सोच भने विक्रम सम्बत् आयातित भएपनि बिदेशी भने मानिहाल्न हुन्न हुन्न यो साझा सम्बत् हो भन्ने रही आएको छ । आफ्नै माटोको नेपाल सम्बत्लाई स्थापित गर्न विक्रम सम्बत्लाई विदेशी बनाइ राख्न कत्ति जरुरी छैन । कैयूँ आयातित मूल्य र मान्यता हामीहरुसँग यस्ता छन् जो हामीसँग आफ्नै माटामा सिर्जित भएकाको तुलना बढी प्रचलनमा छन् जसको पोषण र प्रवद्र्धनमा हाम्रा उल्लेखनीय लगानी रहिआएको छ ।
विक्रम सम्बत् आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा बिदेशी सम्बत् भनिने गरिएको हो । तर विवेचनानीय यो छ कि जुनबेला यसको शुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । यी भूमिहरु हज्जारौँ जनपदमा बाँडिएका थिए र कहिले कुन कहिले कुन सैयूँ राज्यहरु अन्तर्गत यता र उता हज्जारौँ पटक परेका थिए । उत्तरमा मानसरोबरदेखि दीक्षणसम्म गंगानदीसम्म र पूर्वमा कामारुप ब्रह्मपूत्रदेखि पश्चिममा हिन्दुकुशपर्वतसम्म फैलिएका हिमबत खण्डका भूमीले अनेकन मूल्य र मान्यताहरु सीर्जना गरे । ती सबलाई शदियौँ लगाएर परिष्कार गरे । यी अबधीमा यसभूमीमा हज्जारौँ होइन लाखौँ राज्यहरु स्थापित भए र नाशिए पनि तर ती साँस्कृतिक नीधिहरुको निरन्तरता तथा परिष्कार प्रकृया कहिल्यै रोकिएन । यी युगौँसम्म निरन्तरित साझा निधिमा त्यसैले कसको के र कति योगदान रहे भन्ने कुरा यकिन् गर्न कदाचित सकिन्न र यसै हचुवाको भरमा बोल्न मूर्खता सिवाय अरु हुनै सक्दैन । त यो विक्रम सम्बत््लाई कसको भन्ने विषेश यस अवस्थामा कि यो निरन्तरित हुँदा न भारत न नेपाल दुवै देश बनेकै थिएनन् ।
विक्रम सम्बत् का संस्थापक विक्रमादित्य आजका भारतीय भूमीका होइनन् तर नेपाली भूमीकै हुन् भन्ने धारणाहरु नेपालमा नभएको होइन । इतिहासले प्रमाण नदिए पनि अनेकन लोककथा र स्मारकहरुले यस कुराको पुष्टि गर्दछन् । जस्तै एउटा कथाले भन्दछ कि बत्तिसपुतलिमा विक्रमादित्यको िसंहासन भेटिएको थियो र त्यसैमा बसी गोठालाहरुले अनौठाअनौठा तर सही न्याय दिने गर्दथे । त्यो िसंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो । यी विक्रमादित्य लिच्छवि राजा भूमीवर्मा भएको र यीनको राजधानी विशालनगरमा भएको विद्वानहरु आंकलन गर्दछन् । त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले आफ्ना लेख ूविक्रम संवत्को इतिहासू मा स्पष्ट गर्नुभएको छ । अझ साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा त विक्रमादित्य राजाको टाउकोकै मूर्ति छ र त्यसमा बज्रचार्यहरुद्वारा पूजा गर्ने परम्परा युगौँदेखि चली आएको छ । त्यस्तै नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किम्वदन्ती पनि प्रचलित छ । बंशावलीका शोधकर्ता वासुपासा "काभ्रेसिन्धु वृतान्तू भन्ने आपुनो पुस्तकको "विक्रम सम्बत्" भन्ने लेखमा लोकथाको आधारमा भन्नुहुन्छ- "पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म भयो र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बने । उनले पछि वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गरे । भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए । अर्थात उनी नेपाली हुन् र उनले चलाएका सम्बत् त्यसैले नेपाली नै हो ।" विक्रमादित्यका यीनै प्रशंगहरु यता लोकथाहरुमा व्याप्त भएकोले विक्रम सम्बत् यीनै राजाका स्थापना हुन् भारतीय हुनै सक्दैन भन्ने भनाइहरु सुन्नमा आइरहेको छ ।
लोककथाबाहेक कुनै यस्ता प्रमाण छैनन् कि आज नेपालले ओगटेको भूमीमा कूनै विक्रमादित्य नामका राजा पनि थिए र उनैले यो विक्रम सम्बत्् चलाए । बरु एधारौँ शताब्दीका कर्नाटकका चालुक्यबंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ई।सं। १०९७ मा राजा बामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिती यता बसाल्न खेजेका प्रमाणहरु भने पाइन्छन् । यही तथ्यसँग यो लोककथा गोलमटोल भएको मलाई लागेको छ । यसै प्राक्कल्पनालाइ लिएर म निम्न विवेचना गर्न चाहन्छु ।
विक्रमादित्य आजको नेपालले ओगटेको भूमीकै बासिन्दा थिए भने गर्ब गर्ने कुरा निश्चय नै हुन्छ । जनक र बुद्ध नेपालका भूमीमा जन्मेका थिए भन्दा हाम्रो नाक ठूलै हुन्छ । तर कुनै विभूति आफ्ना देशका थिएनन् भन्दापनि दुःख मान्ने कुरा पनि होइन नै । महाबीर जैन वा राम वा कृष्ण हाम्रा भूमिका परेनन् भन्दा हामीमा उनीहरुप्रति हुने आस्था घटदैनन् नै । हामी एक्काइसौँ शताब्दी अघिका विक्रमादित्यका कुरा गर्दैछौँ । यसबीच हज्जारौँ सानासाना देश तथा जनपदमा बाँडिएका हाम्रा यी भूमी कहिले कता कहिले कता परे । परापूर्वकालका साँस्कृतिक धरोहरहरुलाई आजको राष्ट्रियताको आधारमा तेरोमेरो भनी बण्डा गर्नु निश्चय नै मिल्दो कुरो छैन । आजका भारत पाकिस्तान बङ्गलादेश भूटान श्रीलङ्का र नेपालका भूभागमा निर्मित सँस्कृति यीनै विस्तृत भूभागमा बस्ने हामी समस्त जातीजनजातीले साझारुपमा विकसित गरेका हौँ । त्यसमा तेरोमेरो छुट्याउन कदाचित सकिन्न ।
प्रस्तुत पनौतिका लोककथाको प्रशङ्ग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले नेपालमा आक्रमण गरेर विजय गरी उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तिहरु यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । सानासाना राज्यहरु साचालन गर्ने यताका जनताका लागि हज्जारौँ माइल टाढादेखि सैँयू राज्यहरु एकिकिृत गर्दै नेपालसम्म आउँने राजाको व्यक्तित्व सामान्य हुने कुरै थिएन । अझ यी यस्ता राजा थिए जसले विधिवेत्ता विज्ञानेश्वरलाई हिन्दु कानूनसङ्ग्रह रचना गर्न लगाई हिन्दु समाजमा थितिसमेत बसाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यी राजाका शासनकाललाई हिन्दु कानुनको इतिहासमा युगान्तकारी मानिएको छ (रमेशचन्द्र मजुम्दार, प्राचीन भारत, प्रथम भाग पृ. १६१) । यी राजाको थिति यता बस्न आउँदा स्थानीय जनमानसले मुग्धकण्ठसाथ आदर्श नायक बनाएर कथा रचॆ नै । साथै कालान्तरमा यतैका जन्मजात राजासमेत बनाइदिए कथामा ।
इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरु देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि पराक्रमी राजाको पद्बी भएको देखिन्छ । इतिहासबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका बिदेशी आक्रमण र उनीहरुका स्थापनाका बिरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई "विक्रमादित्य" मानिन्थ्यो । इतिहासले त त्यस्तै अभीष्टको लागि मरिमेट्ने राजाहरु स्वयमले आँफूलाई गर्बसाथ "विक्रमादित्य" घोषणा गरेका प्रसङ्गहरु पनि दिन्छन् ।
एकपल्ट इतिहासतिर ध्यान दिऔँ । ई.पू. ३२७ सालतिर जब यवन राजा सिकन्दरले हिन्दुकुशपर्वत पार गरी यता आक्रमण गर्दै थिए त्यसबखत हीमवत्खण्ड हज्जारौँ साना जनपदहरुमा विभाजित थियो । उनै सानासाना जनपदलाई जितेर एकिकृत गर्दै ठूला महाजनपद बनाउन र अश्वमेध यज्ञ गरी चक्रवर्ती राजा बन्न त्यसकालका यताका राजाहरु आँफाआँफैमा लडिरहन्थे । त्यही बिभाजित रही कमजोर रहेका यी जनपदहरुलाई सिकन्दरले थोरै समयमै सजिलै हात पारे तर ब्रम्हपुत्रदेखि विन्ध्याचलसम्मका महाजनपदलाई एकिकृत गरी बनेका मगध साम्राज्यलाई भने उनले छुन सकेका थिएनन् । पछि इ.पू. २०० सालतिर यो साम्राज्य पनि कमजोर हुनपुग्यो र यवनहरु हज्जारौँ माइल जित्दै पाटलीपुत्रमै विजयपताका गाड्न आइपुगे । यसैबखत मध्यएशियाका शक सिथियन हरुले मथुरा गान्धार उज्जैन सिन्ध दक्षिणापथ जित्दै उत्तरपश्चिमका धेरै भागहरु आफ्नो अधिनमा पारे भने पार्थियन पल्हव हरु पसेर पश्चिम गान्धार विजय गरी बेग्लै राज्य स्थापना गर्नपुगे । त्यस्तै कुजुल कुशाण पनि हिन्दुकुश पार गरेर यता स्थापित भए । आफाआफैमा लडिरहने हिन्दू जानपदहरुमा कहिले ऊ कहिले ऊ भए पनि स्वजातिकै आधिपत्य हुने गरेको थियो तर अब त इतरसँस्कृतिका विजातिको आधिपत्य शुरु भयो । अझ त्यति मात्र होइन आफ्ना भूमीमा बिजातिहरुको तँछाड मछाड चलिरहँदा पनि आफूहरुले केही गर्न सकिरहेका थिएनन् । सैयूँ वर्षसम्म हाहाकारको स्थिति भयो । दक्षिणी राज्यहरुमा भने हिन्दु राष्ट्रबादी भावनाको जागरण भयो र कलिङ्गराज खारबेलले इ.पू. २१० सालमा उत्तरापथबाट र बसुमित्रले सिन्धुक्षेत्रबाट शकहरुलाई खेदे । बसुमित्रले त पातन्जलीको पुरोहित्याइँमा गर्बसाथ अश्वमेध यज्ञ नै गरे । मालवीका राजा सातकर्णी इ.पू. १००- इ. पू. ४४ साल ले त अझ पश्चिमी देक्कनका शक्तिशाली सरदारहरुलाई सङ्गठित गरेर शकहरुको नगरमै पसेर उनीहरुलाई खेदे । उनले तब अश्वमेध यज्ञ गर्दै दक्षिणापथ सौराष्ट्र र गुजरातबाट समेत शकहरुलाई निकाले । यी सातबाहन बंशका गौतमीपुत्र सातकर्णीका राज्य उत्तर मालबादेखि दक्षिण कर्णाटकसम्म विस्तारित भयो । यसको गर्बमा उनले आफूलाई "सकयवनपल्हवनिसूदनस" शक यवन पल्हवका नाशक र विक्रमादित्यको उपाधीले विभूषित गरे साथै अफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न इ.पू. ५७ सालमा नयाँ सम्बत् नै शुरु गरे जसलाई पछि विक्रमादित्यको नाममा "विक्रम सम्बत्" भनियो । आज हाम्रो भूमीमा प्रयुक्त सम्बत् यही विक्रम सम्बत् हो ।
कुनैकुनै विद्वानको भनाइ छ सिन्धुको तराइ क्षेत्र पहिलो शताब्दीमा पल्हवको हातमा गयो र उनैका शासक अज्रेश प्रथमले इ.पू. ५८ सालमा एउटा सम्बत् चलाएका थिए त्यसैलाई सातकर्णीले इ.पू. ५७ सालमा निरन्तरित गराए र पछि उनैको नामबाट यो विक्रम सम्बत् भनियो (प्राचीन भारत, प्रथम भाग पृ. १००) ।
विक्रमादित्यको उपाधी पछि गएर पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितियले एउटा कामपिपासु अत्याचारी बिदेशी शकशासकलाई स्त्रीभेषमा मारेपछि धारण गरेका थिए । आठौँ शताब्दीको पूर्वाद्र्धमा पुलकिशनको द्वितीय पुत्रले बिदेशी पल्लवी राजालाई खेदी चालुक्य राज्यलाई पुनर्जीवित गरेर आफूलाई विक्रमादित्य प्रथमको नामले विभूषित गरेका थिए । त्यसपछि उनैका नातिले पनि पल्हवहरुलाई हराएकै कारणले विक्रमादित्य द्वितीयको उपाधी लिए । यसरी बिदेशी खेद्नॆ राजाहरुले गर्बसाथ यो उपाधी ग्रहण गर्ने परम्परा चलाएका स्पष्ट हुन्छ ।
एघारौँ शताब्दीको शुरुवातदेखि भारतमा फेरि बिदेशीहरुको चलखेल शुरु भयो । यसबेलातिर यमन र तुर्कीका इस्लामहरुले उत्तरपश्चिमका सबैजसो क्षेत्र हत्याएर लुटपाट दमन र धार्मिक अत्याचार गर्न लागेका थिए । प्राचीन साम्राज्य छिन्नभिन्न भएको यो स्थितिमा बचेखुचेका हिन्दुसमाजका सामन्तहरुमध्येका चेदि कालाचुरीका गाङ्गेय मालवाका सिन्धुराज अनि कर्नाटकका त्रिभुवनमल्लले बिदेशी खेद्ने बेँडा उठाए र बिदेशीहरु धपाउँदै अफूलाई आफ्ना युगका विक्रमादित्य वा नवसाहसाङ्कका उपाधीले सगर्ब विभूषित गरे । यसरी चालुक्य बंशका आहवमल्लको दोस्रो छोरा त्रिभूवनमल्ल विक्रमादित्य षष्ठनै नेपालको इतिहासमा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक सम्बत् मासेर नयाँ सम्बत् स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत, प्रथम भाग पृ. १६१)।
बासुपासाद्वारा प्रस्तुत विक्रमादित्यद्वारा सम्बत् स्थापनाको किमबदन्ति यो ऐतिहासिक प्रशङ्गसँग मिल्न आउँछ । तर पूर्ववत् विक्रम सम्बत् को निरन्तरता यो थियो भन्नभने मिल्दैन किनभने यी विक्रमादित्य त ११५४ वर्ष पछिका विक्रमादित्य षष्ठ हुन् । यस्तो लाग्छ विक्रमादित्यको आदर्श बोक्ने यी विक्रमादित्य षष्ठले आदिविक्रमादित्यद्वारा इ.पू. ५७ सालमा स्थापित विक्रम सम्बत् लाई आफ्ना नवनिर्मित राज्यमा निरन्तरित गरेका थिए ।
उ बेला ससाना हज्जारौँ राज्यहरुमा बिभाजित हिन्दु राष्ट्रहरुका जनताले हिन्दु राष्ट्रबादका प्रतीक "विक्रमादित्य" लाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरुले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । भूमि त कहिले यताका बने कहिले उताका तर व्यक्तिविशेषको लागि देश सँधै आफ्नै रहे । सबैले त्यसैले युगयुगका विक्रमादित्यहरुलाई आफ्नै भूमिमा जन्मेका महान पराक्रमी राजा माने । यसरी नै चालुक्य राजबंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । तथा नाला होस् वा साँखु होस् वा बत्तिसपुतलि होस् त्यहाँ उपलव्ध लोकआहान्ले गरेको पनि त्यही हो । त्यहाँका विक्रमादित्य नेपाली थिए चाहिँ नभनौँ किनभने त्यसबेला आजको नेपाल बनेकै थिएन । यसै हिसाबमा उनी भारतीय पनि होइनन् किनभने त्यसबेला आजको भारत पनि बनेको थिएन । उनी अर्थात त्रिभुवनमल्ल विक्रमादित्य षष्ठ सीमापारी र वारी दुवै संस्कृतिका धरोहर हुन् । एउटै विक्रमादित्यको कुरा के विक्रमादित्य परम्पराका आदिविक्रमादित्य नै यता र उताका साझा साँस्कृतिक धरोहर हुन् । विक्रमादित्यहरु कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् र बाँध्न सकिन्न पनि । त्यसैले विक्रम सम्बत् नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा सम्बत् हो । यसलाई भारतीय मात्र बन्न दिन हुन्न । अनि त्यसैले नेपाल सम्बत् लाई पूर्ण नेपाली बनाउन विक्रम सम्बत् लाई भारतीय बनाइ राख्न जरुरी छैन ।
तर कुरोको चुरो यो छ कि चन्द्र समशेरले किन शक सम्बत्लाई मासेर बिक्रम सम्बत्लाई मासे । माथि भनिए झैँ शक सम्बत्मा चन्द्रमाको गतिअनुसारको गणनाबाट निस्किएको तिथीमिति अघिपछि चलायमान भइरहने हुँदा प्रशाशनिक कार्यमा सरलताको लागि सूर्यको गति अनुसारको गणनाबाट स्थीर रहने विक्रम सम्बत्को गतेको प्रचलन शुरु भएको भन्ने कारण कक्तिको सही हो गुन्न लायकको छ । इ. सम्बत्को तुलनामा बिक्रम सम्बत्को गते कहाँ एक रुप रहेको छ र यो पनि त तल माथि परिरहेको छ । त्यसरी यो तलमाथि हुने तिथीको प्रयोगले फरकै के पार्छ हिन्दु सँस्कृतिका हरेक सँस्कार तिथिमितिमै त कार्यान्वयन हुन्छ प्रशासनिक कार्यमा यो प्रयोग गर्नै नमिल्ने के छ ?
यो सम्बत् प्रतिस्थापन हुनुको कारण सायद चन्द्रसमशेरको आफू राजपूत हुनुको गर्व र हिन्दु राष्ट्रबादिताको ज्वर थियो । नेपाली भूमिमाथि राजपूतहरुको विजयको सानमा उनले उतैबाट स्थापित हिन्दु राष्ट्रबादिताको प्रतिक विक्रम सम्बत्लाई त्यस्तै सोचका पुरोहितको बहकाउमा अङ्गीकार गर्न पुगेका हुन् । सम्बत् फेर्नै पर्ने कुनै अर्को ठोस कारण देखिन्न । उनमा नेपाली राष्ट्रबादिता नै थियो भने नेपाल सम्बत्लाई फेरि प्रतिस्थान गर्न सक्थे तर उनको नजरमा नेपाल सम्बत् एक विजित तुच्छ जातिका सामान्य जनताको छोरोबाट स्थापित भएको सम्बत् थियो । यो उनलाई कदाचित स्वीकार्य थिएन ।
विक्रम सम्बत् आफैमा खराब छैन । हाम्रै सँस्कृतिको यो हज्जारौँ वर्षको साझा धरोहर भएको हुँदा यसलाई विजातीय हामी मान्दैनौँ तथा त्यस हिसाबमा हामी यसलाई अस्वीकार गर्दैनौँ । यसको राष्ट्रबादिताको प्रतिकात्मकतालाई हामी हृदयैदेखि नै सलाम गर्छौँ तर जुन उद्देश्यसाथ यसको प्रयोग भएको हो त्यो हामीलाई खट्किने कुरो हो । चन्द्रसमशेरको त्यो नियतलाई हामी अस्वीकार गर्दछौँ । अर्थात गलत आधारमा प्रयुक्त भएको यो सम्बत् विशेषगरी सामन्तबाद उच्छेदित लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हामी सदाका दलित जातिलाई स्वीकार्य छैन । हामी भन्दैछौँ विक्रम सम्बत् आयातित भए पनि विजातीयको सृजना होइन तथा यसलाई हाम्रो माटोमा सम्मान छ तर यसले हामीलाई प्रतिकात्मक हिसाबमा कुनियतसाथ राज गर्न भने पाउँदैन । त्यसैले यसको स्थानमा सामान्य जनबाट यसै माटोको सुगन्धमा स्थापित नेपाल सम्वत्लाई सगौरब प्रतिस्थापाना गर्न पर्छ ।
Related article: THE NEW YEAR ONCE A YEAR: HISTORY OF BIKRAM SAMBAT
Related article: THE NEW YEAR ONCE A YEAR: HISTORY OF BIKRAM SAMBAT